लकडाउन अवधिमा दुई लाख टन खाद्यान्न आयात

लकडाउन अवधिमा नेपालमा झन्डै दुई लाख टन खाद्यान्न आयात भएको छ । छिमेकी मुलुक भारतबाट गत मंगलबारसम्म १ लाख ८३ हजार ९२६ टन खाद्यान्न आयात भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । सो अवधिमा ५१ हजार ८३२ टन दलहन, ६९ हजार २५५ टन तरकारी, २५ हजार ९८१ टन फलफूल र १२ हजार ५७ टन दुग्धजन्य पदार्थ आयात भएको मन्त्रालयको तथ्यांक छ ।

लकडाउनमा पनि खाद्य पदार्थ आयातमा उलेख्य वृद्धि भएको मन्त्रालयको भनाई छ । लकडाउन सुरु भएपछिको ५६ औैं दिनसम्म करिब ३ अर्ब रुपैयाँ बराबरको तयारी औषधि आयात भएको छ । मन्त्रालयका अनुसार लकडाउनपछि मंगलबारसम्म २ अर्ब ७१ करोड ६ लाख ६७ हजार रुपैयाँ बराबरको तयारी औषधि र ६१ करोड ४९ लाख ९५ हजार रुपैयाँ बराबरको औषधिको कच्चा पदार्थ आयात भएको छ ।

मन्त्रालयका अनुसार पहिलो हप्ताको तुलनामा आठौं हप्तामा खाद्यान्न आयातमा ८२.६ प्रतिशत तथा दलहन र गेडागुडी आयातमा १२१.१ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, तरकारी र फलफूलको आयात क्रमशः ९.६ र ३०५ प्रतिशतले वृद्धि भएको छ । यही अवधिमा दुग्धजन्य पदार्थ आयातमा १३२.९, औषधिको कच्चापदार्थमा १९८.३ र तयारी औषधिमा ५७.१ प्रतिशतले वृद्धि भएको छ ।

लकडाउनपछिको हाल विद्यमान आठौँ सातामध्ये खाद्यान्न पाँचौँ साता, दलहन तथा गेडागुडी, फलफूल र तयारी औषधि छैटौं साता र औषधिको कच्चा पदार्थ सातौँ सातामा सबैभन्दा बढी आयात भएको तथ्यांकमा उल्लेख गरिएको छ ।

यसैगरी, तरकारी तथा दुग्धजन्य पदार्थ चौथो सातामा सबैभन्दा बढी आयात भएको थियो । रसुवागढी नाकाबाहेक सबै सीमानाकाबाट सामान आयात भइरहेको मन्त्रालयले जनाएको छ । मंगलबारसम्म वीरगञ्ज एकीकृत जाँच चौकीबाट ३ सय १२ ट्रक भित्रिएको, २ सय ७६ ट्रक बाहिरिएको र ६ सय ३३ ट्रक रोकिएका छन् । त्यस्तै वीरगञ्ज सुख्खा बन्दरगाहबाट १ सय ८० ट्रक भित्रिएको, १ सय १५ ट्रक बाहिरिएको र तीन हजार ५सय ९२ ट्रक रोकिएका छन् ।
भैरहवा नाकाबाट ५० ट्रक भित्रिएको, ४४ ट्रक बाहिरिएको र १८० ट्रक रोकिएका छन् । विराटनगर एकीकृत जाँचचौकीबाट २ सय १७ ट्रक भित्रिएको, १ सय १४ ट्रक बाहिरिएको र २ सय ५५ ट्रक उतै रोकिएका छन् भने विराटनगर सुक्खा बन्दरगाहमा एक ट्रक रोकिएको छ । काकरभिट्टा जाँचचौकीबाट ६८ ट्रक भित्रिएको, ५८ ट्रक बाहिरिएको र ३३ ट्रक रोकिएको छ ।

यसैबीच, बजारमा खाद्यान्नको आपुर्ति व्यवस्था सहज पार्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पाेरेसनले नियमित रूपमा खाद्यान्नको बिक्री वितरण गरिरहेका छन् ।

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments