अलैंची भारत निर्यात ठप्प

ताप्लेजुङ : किसानले गत साउनदेखि मंसिरसम्म उत्पादन गरेको ४० प्रतिशत अलैंची व्यसायीसँग छ । नेपालले उत्पादन गरेको ९८ प्रतिशत अलैंची भारतमा बिक्री हुनुपर्ने हो ।

लकडाउनपछि पनि भारतबाट खाद्यान्न लगायतका सामान नेपालमा दिनहुँजसो आइरहेका छन् । नेपालका व्यवसायी रित्तै फर्कने तिनै ढुवानीका साधनमा अलैंची पठाउन चाहन्छन् । तर, निर्यात हुन सकेको छैन ।

अलैचीं व्यवसायी महासंघका अध्यक्ष राजकुमार कार्कीका अनुसार भारतले सिधै ‘तिमीहरुको सामान लैजान्न’ भनेको छैन । तर स्याम्प्लिङका लागि पटना र कलकत्ता पठाउनुपर्ने अलैंची पठाउन पश्चिम बंगाल सरकारले मानेको छैन । मुसलमानहरुले मनाउने रमजान पर्वमा धेरै खपत हुने भएकाले व्यवसायीले त्यो बेला अलैंची पठाउन प्रयास गरेका थिए । ‘घरमै बसेर पनि मिठो मसिनो बनाएर स्वभावैले सबैले खान्थे, तर पठाउन सकिएन,’ उनले भने ।

साउनदेखि नयाँ उत्पादन सुरु हुने भएकाले किसान र व्यवसायीले आफ्नो गोदाम रित्याउने समय यही हो । भारत निर्यात नहुँदा अहिलेको बजार मूल्य पनि अनिश्चित छ । ‘कलकत्तामा हुने मूल्यअनुसार नेपालको पनि दैनिक मूल्य निर्धारण हुने गरेको थियो,’ कार्कीले भने, ‘उता निर्यात नभएपछि हामी पनि मूल्य निर्धारण नगरीकनै बसेका छौं ।’ लकडाउन सुरु हुनुअघि झापा विर्तामोडमा प्रतिमन (४० किलो) २८ हजार रुपैयाँ थियो ।

नेपाल अलैंची व्यसायी महासंघले बिहीबार विज्ञप्ति प्रकाशित गरी कृषकका लागि कृषि पुनर्त्थानका आर्थिक कार्यक्रम र व्यवसायीका लागि कर्जामा ब्याज छुटको माग गरेको छ । अध्यक्ष कार्की र महासचिव सुवास भट्टराईद्वारा जारी विज्ञप्तीमा निर्यात ठप्प हुँदा निराश भएका किसानको मनोबल बढाउन आर्थिक कार्यक्रम र गोदाममा अलैंची थन्क्याएर बैंकमा चर्को ब्याज तिर्नुपर्दा व्यवसायी डुबेको उल्लेख गरिएको छ ।

व्यवसायीले पहिलोपटक अलैंचीको न्यूनतम बजार मूल्य तोकिदिन पनि अनुरोध गरेका छन् । ‘हामी व्यवसायी त बैंकसँग जुधेर ब्याजमा घटबढ गराउन सकौंला, किसान निराश भए भने उत्पादन नै हुन छोड्छ,’ अध्यक्ष कार्कीले थपे, ‘सरकारले न्यूनतम मूल्य तोकिदिए व्यवसायीले त्योभन्दा कम्तीमा ५/७ सय बढी हालेर खरिद गर्न सक्छन् ।’ भारतमा सरकारले गहुँ, धान किनिदिने उदाहरण दिँदै बैठक, छलफलमा कृषि मन्त्रीसँग आफूले पनि यो प्रस्ताव गरेको बताए । बजेट प्रस्ताव गर्नुअघि आफूले हरेक छलफलमा यो विषय उठाएको कार्की बताउँछन् ।

झापाको काँकरभिट्टा नाकाबाट निर्यात हुने नेपाली कृषि उपजमा अलैंची पहिलो नम्बरमा पर्छ । आर्थिक वर्ष २०७५/७६ मा ४ हजार ७ सय ट्रन अलैंची निर्यात भएको थियो । यसले ४ अर्ब रुपैयाँ भित्र्याएको थियो । यो वर्ष अहिलेसम्म १ अर्ब ८६ करोड बराबरको आम्दानी भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । अलैंची भारतबाट पाकिस्तान र खाडी मुलुकमा निर्यात हुन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?