किसानलाई आलु खन्न भ्याइनभ्याइ

मकवानपुर : लकडाउनको समय भए पनि मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिकाका बासिन्दाको मुख्य आम्दानी स्रोत नै आलु खेती हो । थाहा नगरपालिकाका बासिन्दालाई अहिले आलु खन्न भ्याइनभ्याइ छ । माघमा रोपेको आलु वैशाख महिनाको अन्तिम सातादेखि खन्ने काम सुरु हुन्छ ।

तर यो वर्ष पानी धेरै परेको र लकडाउनको कारणले आलुको बिक्री गर्न पनि समस्या भएकाले जेठको पहिलो सातादेखि खन्न सुरु गरेका छन । ‘आलुको उत्पादन रामै छ,’ स्थानीय कृषक सुदर्शन विष्टले भने, ‘पहिले जसरी बाहिरबाट व्यापारी आलु किन्न आएका छैनन, थोरै मात्र बिक्री भइरेको छ ।’

यहाँ उत्पादित बेमौसमी आलु वीरगन्ज, काठमाण्डौ, हेटौडा, चितवन, कलैया,पोखरालगायतका सहरमा जाने गरेको छ । विगतका वर्षहरुमा भारतबाट पनि व्यापारीहरु आएर आलु खरिद गरेर लैजाने गरेका थिए । कृषि शाखाका अनुसार थाहा नगरपालिकाबाट बर्सेनि करिब एक अर्ब रुपैयाँको आलु निर्यात हुने गर्छ । यस क्षेत्रका कृषकहरुले अहिले कार्डिनल, डेजुरे, खुमल रातो, जनकदेव र कुखुरे ज्योति जातका आलु लगाउने गर्छन ।

थाहा नगरपालिकाले आलुबाट मात्रै वार्षिक रुपमा ५७ देखि ६० लाख रुपैयाँ राजस्व संकलन गर्ने गर्छ ।

यहाँबाट निर्यात हुने आलुलगायत अन्य तरकारीमा ४६ वर्षदेखि स्थानीय कर लगाइने गरेको छ । २०३१ सालदेखि ‘थाहा’ रुपचन्द्र विष्टले दामन र पालुङमा आलुमा कर लगाउन सुरु गरेका थिए । त्यही करबाट संकलन भएको रकम यस क्षेत्रको शैक्षिक विकास एवं भौतिक पूर्वाधारका निम्ति खर्च गरिँदै आएको थियो । उक्त कर अहिले थाहा नपाले लगाउने गरेको छ ।

यस क्षेत्रमा आलु खेती २०१८ सालदेखि सुरु गरिएको स्थानीय वुढापाकाहरुको भनाइ छ । पहिला तरकारी खानको निम्ति मात्र आलु खेती गरिन्थ्यो । पछि बिक्री गर्नका निम्ति आलु खेती गर्न थालिएको हो ।

आलुको उत्पादनसँग यस क्षेत्रका बासिन्दाहरुको जीवनशैली जोडिएको छ । आलुसँगै अहिले अरु तरकारी खेती पनि व्यावसायिक ढंगले गर्न थालेका छन् । तर मुख्य आम्दानीको स्रोत भनेको आलु नै हो । कान्तिपुरमा खबर छ।
प्रताप विष्ट

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments