एउटै गाउँमा तीन हजार मेट्रिक टन आलु फल्यो

बैतडी: बैतडीको एउटै गाउँमा तीन हजार मेट्रिक टन आलु फलेको छ । बैतडीको पाटन नगरपालिका–८, खोड्पेका २९ घरपरिवार किसानको दुई सय रोपनीमा तीन हजार मेट्रिक टन आलु फलेको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट अनुदान पाएपछि २९ घरपरिवार किसानले पूरै गाउँमा सामूहिक आलु खेती गरेका हुन् । यो वर्ष हिमपात र पानी परेका कारण सोचेभन्दा बढी आलु फलेको सिद्धसिगास आलु पकेट विकास समितिका संयोजक नरबहादुर विष्टले बताएका छन् । आलु फलाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट पाँच लाख रुपियाँ बराबरको बीउ, मल, प्रविधि र मिनिटिलर अनुदान पाएपछि पूरै गाउँमा व्यावसायिक आलु खेती गरिएको विष्टले बताएका छन् । बन्दाबन्दीका बेला धेरै आलु फले पनि बिक्री गर्न बजार बन्द भएको र भण्डारण गर्न चिस्यान केन्द्र नहुँदा किसानलाई उल्टो समस्या भएको छ ।

आलु ढुवानी गरेर बजारीकरण गर्न पनि समस्या भएपछि किसानले कृषि ज्ञान केन्द्रसँग गुहार मागेका छन् । आलु फलाउन अनुदान दिएको कृषि ज्ञान केन्द्रले आलु ढुवानी गर्न गाडीको व्यवस्था गर्न लागेको कृषि ज्ञान केन्द्रका प्रमुख कर्णबहादुर चन्दले बताएका छन् । सुदूरपश्चिममा पहाडी आलुमध्ये बैतडीको खोड्पेको आलु धेरैले रुचाउने गरेका छन् ।

खोड्पेको आलुको बजार मूल्य अहिले ६० रुपियाँ प्रतिकिलो बिक्री भइरहेको छ । किसानले फलाएको आलु जिल्लाभित्र र प्रदेश राजधानी धनगढीसम्म ढुवानी गर्न किसानलाई गाडीको व्यवस्था र अनुदानसमेत दिने तयारी भइरहेको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ ।
(रासस)

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments