चर्को आलोचना पछि पोखरा महानगर पछि हट्यो, सच्यायो निर्णय

गत जेठ ११ गते पोखरा महानगरमा भएको सर्वपक्षीय बैठकको एउटा निश्कर्ष रह्यो, पोखरा महानगरलाई कोरोनाबाट सुरक्षित बनाउन बाह्य जिल्लाबाट तरकारी आयात नगर्ने । कास्कीमै उत्पादित तरकारीले देशकै ठूलो झण्डै ५ लाख जनसंख्या भएको पोखरा महानगरसहित पूरै जिल्ला धान्न सक्छ कि सक्दैन ? यसतर्फ कसैको ध्यान गएन ।

कास्कीमा कुनै जिल्लाबाट तरकारी भित्र्याउन नपाइने निर्णय गरेकोले सोहि अनुसार वडाअध्यक्षहरु लागिपरे । आफ्नो वडा बचाउन भन्दै अध्यक्षहरु हौसिएरै लागे । तर, बाह्य जिल्लाबाट आएका तरकारी उतै फर्काइदिएको भए पनि आलोचित हुनुपर्थेन । पोखरामा तरकारीको अभाव नै भएपनि पोखरेलीले यो विषम परिस्थितिमा जे छ उसैमा छाक टार्थे । तर, भान्सामा तरकारी नहुने, पसलमा भएका तरकारी छोइनसक्नुको महंगो, लकडाउन लम्बिएर आजित भइरहँदा भिडियोहरुमा वडा अध्यक्ष नै नेतृत्व गरेर डोजर बोलाएर खाल्डो खनेर आफ्नै स्वदेशको तरकारी गाडेको देखेपछि आक्रोश थामिसक्नु भएन । सामाजिक सञ्जालमा अत्यधिक विरोध सुरु भयो । पोखरा १५ का वडा अध्यक्ष प्रकाश पौडेल, पोखरा ३३ का वडा अध्यक्ष शिवप्रसाद आचार्यसँगै त्यस वडाहरुका जान्नेसुन्नेहरु विरुद्ध चर्को आक्रोश छ । कुनै प्रतिक्रियाहरु पनि उनीहरुले गरेको कामको पक्षमा छैनन् ।

गण्डकी प्रदेशकै आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ समेत सम्हालिन सकेनन् र राति पनि कडा शब्दमा असन्तुष्टि व्यक्त गरिरहे ।

तरकारी व्यापारीहरु पोखरा महानगरसमक्ष असन्तुष्टि नै व्यक्त गरे । र, बाह्य जिल्लाबाट तरकारी नल्याउने यो अव्यवहारिक निर्णयलाई पोखरा महानगरले सोमबार सर्वत्र आलोचना भएपछि फिर्ता लिएको छ । कोरोना भाइरस संक्रमण डर भन्दै आयातित फलफूल तथा तरकारी भित्राउन रोक लगाइएकोमा व्यापक विरोधपछि पोखरा महानगरपालिकाले छुट्टै मापदण्ड तय गरेको हो ।

महानगरले कास्की जिल्ला तथा महानगरपालिकाका प्रवेशद्वारहरुमा फलफूल तथा तरकारी भित्राउँदा अनिवार्य रुपमा चेकजाँच गर्नुपर्ने निर्देशनात्मक सूचना जारी गरेको छ ।

६ बुँदे सो सूचनामा फलफूल तथा तरकारीहरुको खरिद दररेट मूल्य खुलेको सक्कल बिल भरपाइ अनिवार्य रुपमा पेस गर्नुपर्ने, महानगरको कुन स्थानमा झार्ने हो सो खुलाउनुपर्ने, तरकारी वा फलफूलको सवारीसाधनमा चालक र सहयोगी गरी मात्र २ जनाभन्दा बढी चढाउन नपाइने उल्लेख छ ।गण्डक न्यूजमा खबर छ।

यो पनि हेरौ :
कृषि मन्त्रालयले भन्योः ‘स्वदेशी कृषि उपज नष्ट गर्ने शृङ्खलाबद्ध हर्कत भए, दुःखी छौं’

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments