बाँझो बगर हरियाली बनाउदै युवा

प्युठान: प्युठान नगरपालिका–१ खैराका माधव आचार्य बुटवल पावर कम्पनीको बाँझो जग्गामा रोपाइँ गर्दै छन् ।

बन्दाबन्दीले अन्नलगायत खाद्य उपजमा भएको महँगी सम्झिएर उनी चार रोपनी बाँझो जमीनलाई खेतीयोग्य बनाउन लागेका हुन् ।

“कमाउने र किन्ने कसरी भन्ने चिन्ता छ”, कृषक आचार्यले भने, “यही बाँझो जमीनमा खेती गरे पनि उब्जेपछि त केही दिन धान्ला ।”

आचार्यसँंगै गाउँका कृषक सोही ठाउँमा रहेको बाँझो बगरमा खेती गर्न व्यस्त छन् । वर्षौँदेखि खाली जमीनमा यस वर्षदेखि खेती गर्न थालिएको छ । रोजगारीका लागि विभिन्न मुलुकमा गएका तन्नेरीहरु यस पटक गाउँ फर्केपछि बाँझो जमीनमा कृषि हतियार चल्न थालेका हुन् ।

झिमरुक जलविद्युत् उत्पादन केन्द्रमा पानी लैजानका लागि बनाइएको ड्याम साइट नजीक करीब ३५० रोपनी जमीन विसं २०४८ देखि बाँझो रहँदै आएको छ । किसानले खेती गर्न थाल्दा कम्पनीले रोकेपछि जमीन बाँझो बन्दै गएको थियो । साठीभन्दा बढी कृषकले यस वर्ष खेती गर्न लागेको बुटवल पावर कम्पनीका पूर्वकर्मचारी भोजबहादुर बस्नेतले जानकारी दिए ।

त्यसैगरी प्युठान–१० मरन्ठानाको वडरामा जग्गा बाँझो रहेको १४ वर्षपछि खेती हुन थालेको छ । चार युवाले करीब १७ रोपनीमा खेती गरेको प्युठान–७ टिकुरीका राजन केसीले बताए । “बाँझो जमीनमा चार जना युवाले निःशुल्क रुपमा जग्गाधनीको सहमतिमा खेती गर्न थालेका छौँ”, केसीले भने, “पहिलो वर्ष खेतीयोग्य बनाउँदै सामान्यबाट शुरुआत गरेका छौँ ।” बाँझो जमीन खनेर मकैसंँगै भटमास, बोडी, तिल र रहर खेती गरिएको हो । खाली जमीन सदुपयोग गर्दै उत्पादन लिन र आय वृद्धि गर्न खेती गरिएको र अर्काे याममा तरकारी खेती गर्ने योजना रहेको केसीको भनाइ छ ।

स्थानीयवासी धीरेन्द्र पण्डित, पशुपति पण्डित र निरन्जन जिएमले झिमरुक खोलाको बगरमा खेती गर्न थालेका हुन् । चौध वर्ष पहिले झिमरुकमा आएको बाढीले कुलो बगाएर खेतीयोग्य जमीन बाँझो बनेको थियो ।

बन्दाबन्दीका कारण युवाको कृषिमा आकर्षण बढ्न थालेको छ । प्युठान नगरपालिकाका खैरा, मन्ठाना, बिजुवार, धर्मावती र जुम्रीकाँढाका युवाले वर्षौँदेखि बाँझिएको जमीनमा खेती गरिरहेको प्युठान नगरपालिकाका कृषि शाखा प्रमुख मेघराज पोख्रेलले जानकारी दिए ।

‘एक गाउँ एक कृषि प्राविधिक’अन्तर्गत नगरपालिकाका १० वडामा ६ प्राविधिकले कृषि परामर्श गरिरहेका छन् । “सबै वडामा बाँझो रहेको भूमिमा खेती गर्न प्राविधिकले परामर्श गरिरहनुभएको छ”, पोख्रेलले भने, “बन्दाबन्दीले युवामा नयाँ जोश र कृषि पेशामा आकर्षण थपेको छ ।” नगरपालिकाका बाँझो जमीनमा खेती गर्ने कृषकलाई बीउ आदिमा प्रोत्साहन गरिने भएको छ । पोख्रेलका अनुसार यस वर्ष नगरपालिकाका करीब ६ सय रोपनी बाँझो जमीन खनेर खेती गरिँदैछ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments