ओखलढुंगामा बाहिरी जिल्लाबाट तरकारी आयातमा रोक
ओखलढुंगा : ओखलढुंगामा तराई लगायत बाहिरी जिल्लाबाट तरकारी आयातमा रोक लगाइएको छ। जिल्लामा उत्पादित तरकारीले बजार भाउ नपाएको गुनासो बढेपछि अन्य जिल्लाबाट तरकारी आयतमा रोक लगाइएको हो।
यस अगाडि तराईका जिल्लाहरु धनुषा, सिरहा तथा पर्साबाट अत्याधिक मात्रमा तरकारी आयात हुँदै आएको थियो। ती जिल्लाहरु कोरोना संक्रमणको उच्च जोखिममा रहेको र जिल्लामा तरकारी नबिकेको गुनासो आएपछि केही समयका लागि आयातमा रोक लगाइएको उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र मास्केले बताए। कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित जिल्लास्तरीय समिति जिल्ला कमाण्ड पोष्टले निर्णय नै गरेर तरकारी तथा अन्य तरकारीजन्य वस्तु आयतमा रोक लगाएको हो।
अन्य अत्यावश्यक वस्तुहरुको ढुवानी भने सुरक्षित तरिकाले भइरहेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए। आचार्यका अनुसार ओखलढुंगामा अहिलेसम्म एकजनामा पनि संक्रमण नदेखिएको र जिल्लालाई सुरक्षित गर्न दैनिक रुपमा ढुवानी हुँदै आएका तराईको तरकारी रोकिएको हो।
ओखलढुंगामा वर्षाद्को समय सुरु भएकाले स्थानीय उत्पादनले बजार नपाएको किसानले गुनासो गर्दै आएका थिए। प्रजिअ आचार्यले भने, ‘स्थानीय तरकारी नबिकेको र बाहिरी जिल्लाबाट अत्याधिक भित्रिन थालेको गुनासो आएपछि स्थानीय उत्पादनलाई प्रोत्साहन दिन र कोरोना संक्रमणबाट जिल्लालाई जोगाउन पनि संक्रमित क्षेत्रबाट ढुवानी हुने तरकारीमा रोक लगाइएको छ।’
आयातित तरकारी सस्तोमा पाउने भएकाले उपभोक्ताको माग बढी हुने गरेको थियो। वर्षामा सदरमुकाम आसपासमै उत्पादित तरकारी खेर गएको गुनासो गर्दै आएका किसानलाई भने राहत भएको छ। अन्नपुर्णपोस्टमा खबर छ।
शिवप्रसाद ढुंगाना
