सीमा बन्दका कारण छर्ने बेलासम्म धानको बीउ अभाव

कपिलवस्तु:
शिवराज नगरपालिका– ३ खरेन्द्रपुरका निसार अहमदको खेत जोतेर धानको बीउ छर्न ठीक्क छ । घर नजीकैको एक कठ्ठा जग्गामा धानको बीउ छर्ने तयारीका लागि सबै जोरजाम गरिसक्नु भएको छ तर धानको बीउ कहाँबाट ल्याउने भन्ने चिन्तामा उहाँ हुनुहुन्छ । बुद्धभूमि नगरपालिका –७ मानपुरका राधेश्याम यादवले पनि धानको बीउ छर्नका लागि खेत तयार बनाउनुभएको छ । उहाँ दुई कठ्ठा खेतमा धानको बीउ छर्न लाग्दै हुनुहुन्छ । उहाँ पनि धानको बीउ नपाएपछि समस्यामा हुनुहुन्छ । कोभिड –१९ का कारण नेपाल र भारत सिमाना बन्द भएपछि किसान समस्यामा छन् ।

यसअघिका वर्षमा कृषकहरु भारतबाट हाइब्रीड जातको धानको बीउ ल्याएर छर्ने गर्थे । यसपटक सीमा बन्दका कारण बीउ किन्न जान नपाउँदा छर्ने समय हुँदासम्म पनि बीउको जोहो हुन सकेको छैन । प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलसँग हाइब्रिड धानको बीउ भारतबाट आयात गर्ने व्यवस्था मिलाउन आग्रह गरिए पनि कुनै पहल नभएको किसानले गुनासो गरेका छन् । कपिलवस्तु किसान संघले धानको बीउका लागि पटक पटक ध्यानाकर्षण गराउँदा समेत कुनै पहल नभएको किसान संघका अध्यक्ष अनुप चौधरीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यस समयमा धानको बीउ नपाइए किसान भोकै बस्ने अवस्था आउन सक्छ, त्यसैले बीउ समयमा उपलब्ध हुने व्यवस्था गर्नुपर्छ ।” प्रजिअ पौडेलले नेपाल भारत सिमानामा आवतजावत गर्न पूर्ण रुपमा बन्देज रहेकाले कुनै पनि समाग्री ल्याउन नसकिने बताउनुभयो । किसानको समस्याका विषयमा गृह मन्त्रालयमा जानकारी गराइएको तर सिमानाका विषयमा कुनै निर्देशन नआएकाले केही भन्न नसकिने प्रजिअ पौडेलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो–“यो राष्ट्रिय समस्या भएकाले संघ र प्रदेश सरकारबाट समाधान गर्नुपर्ने हुन्छ ।” यहाँका किसानले लामो समयदेखि भारतबाट सभा, सम्पूर्ण, काबेरी, गोरखनाथ जस्ता भारतीय हाइब्रिड जातको धान ल्याउने गरेका छन् । जिल्लामा कुल खेतीयोग्य जमीन ८३ हजार हेक्टरमध्ये ७२ हजार हेक्टरमा धान खेती गर्ने गरिन्छ । यसबाट दुई लाखभन्दा बढी मेट्रिक टन धान उत्पादन हुने गरेको जनाइएको छ । (रासस)

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments