खेती किसानीका लागि बाँझो जग्गा खोजी गर्ने बढे , अब केहि हुन्छ जुटौ सबै

लमही(रासस): कृषक केशव गौतमले आफ्नो बाँझो जग्गामा मकै रोप्नुभएको छ । भारतमा रोजगारी गर्दै आएका परिवार सबैको रोजगारी गुमेको र फेरि रोजगारीका लागि भारत जाने अवस्था नदेखेकाले आफ्नै बाँझो जग्गाको सदुपयोग गरी खेती शुरु गरिएको गौतम बताउनुहुन्छ । कुनै समय जग्गा भाडामा जाने र कहिले बाँझै रहने गरे पनि यस वर्ष भने आफँैले खेती शुुरु गरेको उहाँको भनाइ छ । यसरी नै जिल्लामा बाँझो जग्गा सदुपयोग हुन थालेको छ । पछिल्लो समय बाँझो जग्गा खेतीका लागि धेरैले उपयोग गर्न थालेका छन् ।

विश्वव्यापी कोरोना भाइरसको संक्रमणसँगै रोजगारी गुमाएर सयौँ युवा जिल्लामा फर्किएसँगै अब आफ्नै गाउँघरमा खेती किसानीका लागि बाँझो जग्गा खोज्न थालेका हुन् । अन्य समयमा रोजगारीका लागि परदेश गएकाहरु गाउँघरमा भरिभराउ भएका छन् । उनीहरु पुनः रोजगारीमा जाने अवस्था नभएको र रोजगारी नै गुमेपछि खाद्यान्न लागि भए पनि खेतीका लागि जग्गाको खोजी धेरै हुने गरेको परदेशबाट फर्किएकाहरु बताउँछन् ।

त्यस्तै यसअघि साझेमा खेती लगाउने मानिस खोज्दा पनि नपाइने अवस्था भएको र हाल खेतीका लागि जग्गा खोजनेहरु दैनिक आउने गरेको स्थानीयवासी गोकर्ण पौडेल बताउनुहुन्छ । ‘‘पहिले मल बीउ दिन्छौँ, खेती लगाऊ भन्दा मानिसले आनाकानी गर्ने गरेका थिए, यस वर्ष पाँचछ जनाले फोन गरेर खेतीका लागि जग्गा मागेका छन्’’, उहाँले भन्नुभयो । त्यस्तै रोजगारीका लागि भारत गएका र त्यहाँ कोरोना संक्रमण फैलिएपछि रोजगारी गुमेर नेपाल आउनुभएका धनबहादुर वलीले पनि जग्गा भाडामा लिएर धान खेती शुरु गर्न थालेको बताउनुभयो । ‘‘पहिले भारतमा कमाएर बालबच्चा पाल्ने अवस्था थियो अब रोजगारीमा फर्केने अवस्था छैन, यही खेत भाडामा लिएरर खेती गर्न लागेको छु’’, उहाँले भन्नुभयो ।

उहाँ जस्तै परदेशबाट आएका यहाँका धेरै व्यक्तिले गाउँघरमै खेती किसानीका लागि जग्गा खोजी रहेका छन् । हिजोसम्म बाँझो रहने जग्गा भाडा तथा साझेमा लगाउनेहरुले खोजी गरिरहेको पूर्ण वली बताउनुहुन्छ । ‘‘यस वर्ष जग्गाको खोजी निकै छ, सबै कोरोनाका कारण बेरोजगार भएका छन्, खाद्यान्नका लागि भए पनि खेतीका लागि जग्गा खोजिरहेका छन्’’, स्थानीयवासी निमकुमार श्रेष्ठले भन्नुभयो । रोगसँगै भोकले पनि मरिने हो कि भन्ने चिन्ताले समेत सबैलाई सताएका कारण बाँझो जग्गामा खेती शुरु भएको दाङ, लमही निवासी रेशमबहादुर खड्का बताउनुहुन्छ ।

‘‘अहिले गाउँगाउँमा बाँझो जग्गाको खोजी छ, कोरोनाको महामारीसँगै खाद्य संकट निम्तने हो कि भन्ने चिन्तामा सबै छन् ’’, उहाँले भन्नुभयो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको आगामी वर्षको नीति, कार्यक्रम र बजेट निर्माण गर्दा बाँझो जग्गालाई पूर्ण रूपमा सदुपयोग गर्ने गरी तय गर्न स्थानीय तहलाई आग्रहसमेत गरेको छ ।

सो कार्यलाई प्रोत्साहन गर्न कर सहुलियत तथा कर अनुदान व्यवस्था गर्न सकिने गरी नीति, कार्यक्रम बजेट निर्माण गर्न सबै स्थानीय तहलाई आग्रह गरेसँंगै दाङका स्थानीय तहले कृषिमार्फत रोगजारी सिर्जना गर्ने कार्यक्रम ल्याउन लागेका छन् । कोरोना भाइरसका कारण विदेशबाट रोजगारी गुमाएर फर्किनेहरुका लागि यहाँका स्थानीय तहले कृषि क्षेत्रमा रोजगारी सिर्जना हुने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने तयारी गरेका हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?