फौजी कीरा नियन्त्रण गर्न खेतबारीमा प्राविधिक, किसान खुशी

जाजरकोट: भर्खरै हुर्कंदै गरेको मकैबालीमा फौजी कीराले काट्दा समस्यामा परेका कृषकलाई खेतबारीमै औषधिसहितको कृषि प्राविधिक खटाइको छ ।

जिल्लाको शिवालय गाउँपालिकाले औषधिसहितको प्राविधिक टोली कृषकको खेतबारीमा खटाएर औषधि गर्न थालेपछि कृषक खुशी भएका छन् । कोरोना भाइरसका कारण समस्यामा परेका बेला खेतबारीमै प्राविधिक पठाएर रोगको निदान गरेपछि आफूहरु खुशी भएको शिवालय गाउँपालिका–३ का कृषक लालबहादुर थापाले बताउनुभयो । गाउँपालिकाभरि फौजी कीराले मकै सखाप पारेपछि कृषक हैरान भएको उहाँँले बताउनुभयो । अहिले प्राविधिक गाउँ गाउँमा गएर उपचार गर्दा केही सहज भएको अर्का कृषक उद्धय शाहीले बताउनुभयो ।

गाउँपालिकाभित्र रोपिएका मकैमा कहाँ कहाँ फौजी कीराले मकैको बोट काटेको छ त्यहाँबाट सिधा गाउँपालिकामा सम्पर्क गर्नसमेत आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष नरेन्द्र शाहीले जानकारी दिन्नुभयो । फौजीकीरा नियन्त्रण गरी कृषिजन्य वस्तु उत्पादनका लागि वातावरण तयार गर्न गाउँपालिकाले फौजीकीरा नियन्त्रण तथा व्यवस्थापन कोष स्थापना गरेको छ । सोही कोषमार्फत कृषकलाई परेको समस्या समाधान गर्न लागिएको अध्यक्ष शाहीले जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माले भन्नुभयो, “अध्यक्षलगायत अन्य जनप्रतिनिधि र स्थानीयवासीले दिएको सूचनाका आधारमा हामी विषादी र स्प्रे ट्याङ्की बोकेर गाउँ गाउँका खेतबारीमा पुग्छौँ ।” गाउँपालिकाभित्र रहेका कृषि जेटिए पढेर बस्नुभएका आन्तरिक जनशक्तिलाई दैनिक रु ५०० भत्ता दिएर फौजीकीरा नियन्त्रणका लागि खटाउने काम भएको छ, अधिकृत शर्माले भन्नुभयो । पहिलो चरणमा रु दुई लाख ५० हजार कोष स्थापना गरेर फौजीकीरा नियन्त्रणको काम भएको समेत उहाँले बताउनुभयो ।

शिवालय गाउँपालिकामा मकै सबैभन्दा बढी उत्पादन हुने अन्नमध्येमा पर्छ । करिब १८ हजार जनसङ्ख्या भएको सो गाउँपालिकामा दुई हजार ४९२ घरधुरी रहेको छ । सिँचाइ क्षेत्र कम भएको यहाँ आकाशे पानीको भरमा वर्षेनी खेती हुँदै आएको छ । शिवालय गाउँपालिका जिल्लाको पश्चिम भागमा रहेको छ । साविकका तीनवटा गाविस सीमा, थालारैकर र जुंगाथापाचौर मिलेर शिवालय गाउँपालिका बनाएको हो ।

स्थानीय जीवनशैली, परम्परागत संस्कृति, प्राकृतिक स्रोत, साधन, पर्यटनको प्रचुर सम्भावना, जल तथा काठजन्य वन क्षेत्रको पर्याप्तता शिवालय गाउँपालिकाको प्रमुख विशेषता हो । जिल्लाको कूल क्षेत्रफल २२२३.३५ वर्ग किलोमिटरमध्ये १३४.२६ अर्थात् १२५ भूभाग शिवालय गाउँपालिकाले ओगटेको छ । यातायातको हिसाबले भर्खरमात्र यो गाउँपालिकामा मौसमी यातायात सञ्चालन हुनेगरी बाटो निर्माण कार्य भइरहेको छ ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?