चियाको १५ करोड भुक्तानी बाँकी ,मारमा चिया किसान

कोकिला ढकाल
इलाम:
‘फस्र्ट फ्लस’ अर्थात् पहिलो टिपाइको तयारी चिया हरेक चिया उद्योगका गोदाममै थन्किएको छ । अहिले दोस्रो चरणको चिया टिपाइ सुरु भएको छ । चैतदेखिकै बन्दाबन्दीका कारण निकासी हुन नसकेको तयारी चिया गोदाममै थन्किएपछि उद्योगहरूले चिया किसानको रकम अहिलेसम्म दिएका छैनन्् ।

अहिले सूर्योदय नगरपालिकामा रहेका चिया किसानले उद्योगहरूबाट करिब १५ करोड रुपियाँ पाउन बाँकी छ । नगरपालिकामा सूर्याेदय टि प्रोड्युसर्स एसोसिएसनमा आबद्ध ६२ चिया उद्योगको मात्रै करिब साढे दस लाख किलोे तयारी चिया गोदममै छ । फस्र्ट फ्लसको चिया भारत निकासी गर्न नसक्दा यी उद्योगले किसानको रकम भुक्तानी गर्न नसकिरहेको एसोसिएसनका सचिव गोपाल कट्टेलले जानकारी दिनुभयो ।

“तयारी चिया गोदाममै छ, दोस्रो चरणको पत्ती टिपाइ सुरु भयो, भारत निकासीमै समस्या भएपछि हामी पनि अन्योलमा प¥यौँ,” कट्टेलले भन्नुभयो, “पछिल्लोपटक उद्योगहरूले तोकेको मूल्य दिनसमेत समस्या छ । ” चिया किसान र उद्योगका लागि सरकारले पनि खासै चासो नदिएको कट्टेलको भनाइ छ । “समस्या चुलिँदै जाँदा नगरपालिकालाई पनि राहतको प्याकेज ल्याएर किसान र उद्योगधन्दालाई सहयोग गर्न आग्रह गरेका छौँ,” कट्टेलले भन्नुभयो, “एसोसिएसनले बिक्री मूल्यअनुसार खरिद मूल्य राख्न पाउनुपर्ने, लागतभन्दा कम मूल्यमा बिक्री हुन्छ भने नगरपालिकाले लिने करमा छुट दिइनुपर्ने, किसानलाई मलमा छुट दिनुपर्नेजस्ता विषया नगरपालिकासँग राखेको छ । ”

यता नगरपालिकाले तोकेको मूल्य प्रतिकिलो न्यूनतम ४० रुपियाँभन्दा कम अर्थात् चियाको सुइरो हरेर प्रतिकिलो २० रुपियाँ र ३० रुपियाँ उद्योगहरूले तोकेपछि किसान भने असन्तुष्ट छन् । किसानले न्यूनतम मूल्य पाउनुपर्ने माग गर्दै विरोध प्रदर्शन नै गरेका थिए ।

नगरपालिकाले पनि न्यूनतम मूल्य निर्धारण गर्न सबैको सहमति रहेकाले त्यसभन्दा पछि हट्न नसकिने जनाएको छ । “हरियो पत्तीको गुणस्तर बढाउन नगरपालिका सहमत हुन्छ तर मूल्य घटाउन सहमत छैन,” नगरप्रमुख रणबहादुर राईले भन्नुभयो, “तयारी चिया निकासीका लागि प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरिरहेका छौँ । दीर्घकालीन समाधानका लागि कूटनीतिक पहल जरुरी छ । ” तर, चिया बिक्री नभएको बहनामा चियाको मूल्यमा सिन्डिकेट लागू गर्न नदिने राईको भनाइ छ । गोरखापत्र अनलाइनमा खबर छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?