समयमै वर्षात भए पनि धानकाे बीउ तयार नहुँदा राेपाइँ ढिला हुँदै
रामगाेपाल तमखु
भक्तपुर: यो वर्ष समयमै वर्षात भए पनि धान रोप्नको लागि बीउ तयार नहुँदा किसानलाई खेतमा भएको पानी हेरेर बस्नुपर्ने अवस्था छ । अहिले पानी परेको हेर्दा धेरै ठाउँमा रोपाइँ सकिसकेको हुनुपर्ने भए तापनि बीउ सानो भएका कारण जेठको अन्तिमसम्म पनि २५ प्रतिशत रोपाइँ समेत नसकिएको भक्तपुरका किसानहरु बताउँछन् ।
किसानहरुका अनुसार विगतका वर्षमा जेठको अन्तिमा ४०-५० प्रतिशत रोपाइँ सकिसकेको हुन्थ्यो । कतिलाई कोरोना भाइरसको त्रासका कारण त कतिलाई लकडाउनको समय बाहिर निस्कन नपाएका कारण धानको बीउ र मल समयमै पाए पनि बेर्ना राख्न ढिला भएको बताउँछन् । धानको बीउ राख्न ढिला हुनु अनि समयमै पानी पर्नु, कतिलाई खेतको पानी हेर्दै बस्नुपर्ने बाध्यता त कसैलाई सानै बीउ भए पनि रोप्ने चटारो सुरू भएको छ ।
भक्तपुर जिल्लाको धेरैजसो ठाउँमा आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने खेत भएकाले सानै बेर्ना भए पनि पानी परेको बेला रोप्नुपर्ने बाध्यता भएको हो । अझ यस वर्ष पानी परेपछि खेतमा आली लाउन दौडिहाल्ने किसानलाई साथीभाइ, छिमेकी, आफन्त वा ज्यामी खोजेर धान रोपी हाल्नुपर्ने अवस्था छ । कोरोना र लकडाउनका कारण पहिला-पहिला जस्तो ज्यामी नपाउने अवस्था पनि छ अहिले । आफन्त र छिमेकीहरुसँग आलोपालो गरेर यसपालीको रोपाइँ सकाउनुपर्ने बाध्यता छ ।
विगतका वर्षमा जेठको अन्तिमतिर फाँटभरि किसानको हुल देखिन्थ्याे । ज्यामीहरु प्रशस्त पाइन्थे । यो वर्ष लकडाउनका कारण उपत्यका बाहिरका धेरैजसो मानिसहरु बाहिरै गइसकेका कारण ज्यामी पाउन मुस्किल भएकाे हाे । विगतका वर्षहरुमा फाँटभरि कतै ट्याक्टरले खन्दै, कुटो-कोदालोले हिलाउँदै गरेको र कतै हातमा बीउ लिएर रोप्दै गरेका रोपारहरु भेटिन्थे भने यो वर्ष यस्तो दृश्य जेठको अन्तिम सातामा पनि कमै मात्र देखियाे । असार लागिसक्दा समेत राेपाइँ उल्लेख्य हुन सकेकाे छैन । न्युज 24 मा खबर छ।
