मकैसँगै सूर्यमुखी खेती विस्तार

स्याङजा : गल्याङ नगरपालिका ११ स्थित जिमुवाका रुमलाल कँडेलले मकैसँगै सूर्यमुखीखेती विस्तार गरेका छन्। मकै र सूर्यमुखी फूलको एकैपटकमा संयुक्त खेती गरिएको छ। अन्नबाली र तेलहनबाली एकैपटक भित्र्याउन सफल भएकोमा उनी निकै खुशी छन्।

केही वर्षअघि आँगन र बगैंचामा २÷४ वटा सजावटका लागि लगाइने फूल अहिले व्यावसायीकरण बन्दै गएको छ। ठूलो आकारको पहेंलो फूलले सबैलाई आर्कर्षित गर्छ। सूर्यमुखी भएका ठाउँमा मौरी चरन क्षेत्र बनाई मह उत्पादन लिन सकिन्छ।

व्यावसायिक किसान कँडेलले ३ बिघाभन्दा बढी जग्गामा मकैसँगै सूर्यमुखीखेती गरेका छन्। ४० रोपनी खेतमा मकै र सूर्यमुखी झुलेका छन् अहिले। हरिया मकैका बोटसँगसँगै पहेंला सूर्यमुखी फूलेको छ। मकै खान लायक भएका छन् भने सूर्यमुखी पनि पाक्ने अवस्थाका छन्।

मकै बालीसँगै सूर्यमुखीखेती राम्रो भएको छ। किसानलाई यसले संयुक्त बाली गर्न प्रेरित गराएको छ। एकै पटकको मेहनत र खर्चले दोहोरो उत्पादन र संयुक्त खेती गर्न सिकाएको छ।

पाँच वर्षअघि मकैसँगै सूर्यमुखी लगाउँदा सन्तुष्ट भएका कारण अहिले पनि पुनः लगाएको उनले जनाए। त्यसबेला ३ रोपनी खेतमा मकैसँगै अलीअली सूर्यमुखी लगाउँदा पनि २० लिटर तेल आएको उनले स्मरण गराए। सूर्यमुखी तेल स्वास्थ्यका लागि उत्तम मानिन्छ।

‘सूर्यमुखीको फूलका दानाबाट तेल बन्छ। साथसाथै पिना पनि निस्कन्छ। तेल मानिसका लागि खान प्रयोग गरिन्छ भने पिना गाईवस्तुको पोषिलो आहारा बन्छ। यसले गर्दा गाईवस्तु दुधालु, नरोगी र बलिया हुन्छन। तेलहन बाली भएकाले नाइट्रोजन उत्पादन हुने हुँदा माटो पनि उर्वर बनाउँछ, अन्य खेतीलाई पनि राम्रो गर्छ’, कँडेलले भने।

फूल एक उपयोगिता अनेक छन् सूर्यमुखीका। दानालाई बीउ बनाएर बिक्री गर्न सकिन्छ। यसका पात, डाँठ, फूलका दाना, धूलो सबै प्रयोगमा ल्याउन सकिन्छ। एउटै फूलको तौल २ देखि ५ किलोसम्मका हुन्छन्। फूल रोपेको ४ महिनामै पाकेर दाना टिप्न लायक हुन्छ भने मकै गोड्मेल गर्दा यसको पनि सँगै गोडमेल गरे पुग्छ। यसवर्ष कँडेलले सूर्यमुखीको बीउ भैरहवाबाट प्रतिकिलो एक हजार रुपैंयाँका दरले खरिद गरेको जानकारी दिए।

फागुनको पहिलो साता मकै छरेको भोलिपल्ट सूर्यमुखी रोपेका हुन् उनले। एक किलो सूर्यमुखीको बीउ रोपेको बताउने कँडेलको यसपटक २ सय लिटर भन्दाबढी तेल उत्पादन गर्ने लक्ष्य सुनाए। मकै भने ६० क्विन्टल उत्पादन हुने जनाए। सूर्य जतातिर हुन्छ उतैतिर फूल फर्कने हुँदा यसको अर्को नाम सूर्यमण्डल पनि हो। अन्नपुर्ण पोस्टमा समाचार छ।
भवानी अधिकारी (स्याङ्जा)

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments