सुन्तलाको बियाँबाट राम्रो कमाइ

पाल्पा। सुन्तलाको बियाँ बीउका लागि सुरक्षितसाथ संकलन गर्न सके राम्रो गर्न सकिन्छ ।

रैनादेवी छहरा गाउँपालिकाका सुन्तला किसान बन्दाबन्दी अवधिमा सुन्तलाको बीउबाट उत्पादित बिरुवाको कारोबारबाट राम्रो आम्दानी गरी नमूना बनेका छन् ।

रैनादेवी छहरा–४,सल्लेधाराका ददीराम पोखरेलले झण्डै चार हजार सुन्तला र कागतीको बिरुवाबाट करीब रु दुई लाख आम्दानी भएको बताए । सुन्तला, कागती, जुनारलगायत बिरुवाको बगनासकाली र रैनादेवी गाउँपालिकाबाट ठूलो मात्रामा माग भएको छ ।

एउटा सुन्तला र कागतीबाट आठदश बिरुवा हुर्काउन सकिने हुँदा पैसा कमाउना लागि दुःख नै नभएको उनले बताए। प्रतिसुन्तला र कागतीका विरुवा रु २५ र कलमी विरुवा रु ४५ मा घरबाट नै कारोबार हुँदै आएको उनी बताउँछन् ।

रैनादेवी छहरा गाउँपालिकाको अम्लाबासका मनबहादुर बगालेले पनि बन्दाबन्दी अवधिमा आठ नौ हजार सुन्तला विरुवाको कारोबार भएको बताए। गत वर्ष असारसाउनमा मात्र बिरुवाको बिक्री हुने गरेकामा यस वर्ष जेठमै विरुवा सकिएको बगालेले बताए ।

गाउ फर्केका युवा अहिले आफ्नै घरबारीमा सुन्तला, कागती, जुनार जस्ता बोटविरुवा लगाउन व्यस्त छन् । रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्की व्यावसायिक रुपमा सुन्तला किसानलाई अनुदानमा बिरुवा वितरण गर्ने योजना रहेको बताए।

गाउँपालिकाले बाँझो जमीनमा अन्न तथा फलफूल किसानलाई रु तीन हजारदेखि पाँच हजारसम्मको अनुदानको व्यवस्था गरेकाले युवाहरु सुन्तला तथा कागती खेतीप्रति आकर्षित देखिएको उनी बताउँछन् ।

जिल्लामा वार्षिक पाँच हजार ६६० टन सुन्तला उत्पादन हुँदै आएको छ । गत आर्थिक वर्षमा मात्र जिल्लाले करीब रु ११ करोड आम्दानी गर्न सफल भयो । पाल्पामा ८५३ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको कृषि ज्ञान केन्द्र पाल्पा प्रमुख शिव अर्यालले बताए।

पाल्पामा उत्पादित सुन्तलाका बिरुवा म्याग्दी, पर्वत, बालुङलगाया जिल्लामा ठूलो मात्रामा निर्यात हुँदै आएको छ । गत आव २०७५।०७६ मा सुन्तला तथा फलफूल विकास केन्द्र पाल्पाले बाहिरी जिल्लामा निर्यात गरी रु आठ लाख आम्दानी गरेको थियो । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?