रोल्पाको गुरुङ गाउँमा बहुउद्देश्यीय भवन निर्माण

रोल्पा। स्थानीय गुरुङ गाउँमा पर्यटन विकासका लागि बहुउद्देश्यीय भवन निर्माण गरिएको छ । सामुदायिक घरबास प्रवद्र्धनका लागि उक्त भवन निर्माण गरिएको हो ।

गुरुङको घना बस्ती रहेको सो स्थानमा निर्माण गरिएको सामुदायिक भवनमा कला, संस्कृति र वेशभूषा संगृहीत गरिने गुरुङगाउँ सामुदायिक होमस्टेका अध्यक्ष हरिशजंग गुरुङले जानकारी दिए। नब्बेभन्दा बढी गुरुङका घर रहेको सो स्थानमा पाँच घरमा घरबास सञ्चालन गरिएको छ । गुरुङ परिकारका साथै ढिँडो, सिस्नो, खोले, स्थानीय कुखुरा, मकै, भटमास, दही, मही जस्ता स्थानीय परिकार उपलब्ध हुने भएकाले उक्त घरबासमा जानेको संख्या उल्लेख्य रहेको घरबास सञ्चालक पविसरा गुरुङले जानकारी दिए। पर्यटकलाई स्थानीय किसानले उत्पादन गरेको मकैको थोता रङ्गाएर बनाएको माला पहिर्याएर स्वागत सत्कार गर्ने प्रचलन छ ।

अहिले कोरोना भाइरसका कारण भएको बन्दाबन्दीले चहलपहल घटेको गुरुङले बताए । जिल्ला सदरमुकाम लिबाङदेखि एक घण्टाको उकालो पैदल यात्रा गरी पुगिने उक्त स्थानवाट रमणीय दृश्यावलोकन गर्न सकिन्छ । लिवाङ गुरुङगाउँ हुँदै सातदोबाटोस्थित नेपालकै अग्लो भ्यूटावर जाने सडक जोड्न सके यहाँको पर्यटनमा योगदान पुग्ने स्थानीयवासी देवी गुरुङको भनाइ छ ।

संघीय सरकारको रु दुई करोड ८९ लाख ४४ हजारको लागतमा उक्त भवन निर्माण गरिएको हो । सामुदायिक भवनका दुई तलामा बैठक कक्ष र मञ्च तथा बाहिर ढोकासहितको आकर्षक उद्यानसमेत निर्माण गरिएको छ । सघन शहरी तथा भवन निर्माण आयोजना दाङको प्राविधिक सहयोगमा उक्त भवन निर्माण गरिएको होम स्टेका अध्यक्ष गुरुङले जानकारी दिए। रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments