कृषिको विकासका लागि नवीकरणीय ऊर्जाको विस्तारमा जोड

काठमाडौँ। राष्ट्रिय धान दिवसको अवसरमा आज यहाँ आयोजित खाद्य सुरक्षाका लागि नवीकरणीय ऊर्जा प्रविधिको भूमिका विषयक वेबिनार गोष्ठीका सहभागी वक्ताहरुले कोभिड­१९ पछि आउन सक्ने सम्भावित खाद्य सङ्कटबाट बच्न र युवा जनशक्तिलाई व्यावसायिक कृषि प्रणालीमा आकर्षित गर्न कृषिको आधुनीकीरणका लागि ऊर्जाको प्रयोग बढाउनुपर्नेमा जोड दिएका छन् ।

नेपाल नवीकरणीय ऊर्जा परिसङ्घले आयोजना गरेको सो गोष्ठीमा कृषिको उत्पादन, प्रशोधन, भण्डारण र वितरणमा ऊर्जाको आवश्यकता रहने हुँदा यसको पहुँच विस्तार गरी परम्परागत कृषि प्रणालीलाई व्यावसायिक गर्न सकिएमा मात्रै सुखी नेपाली र समृद्ध नेपालको लक्ष्य हासिल हुनसक्ने उनीहरुको भनाइ छ ।

कार्यक्रममा पूर्वमन्त्री जनार्दन शर्माले खाद्य सङ्कटलाई समाधान गर्न स्वदेशमा नै खाद्यान्न उत्पादन गर्नका लागि उपयुक्त प्रविधिहरु प्रयोग ल्याउनुपर्नेमा जोड दिँदै सिँचाइ सुविधा पुग्न नसकेका खेतीयोग्य भूमिमा ऊर्जाको माध्यमबाट पम्पिङ गरी खाद्यान्न उत्पादन वृद्धि गर्न सकिने धारणा राखे। उनले कोरोना भाइरसले उत्पन्न विश्वव्यापी आर्थिक सङ्कटका कारण रोजगारी गुमाएर स्वदेश फर्कने जनशक्तिलाई व्यवस्थापन गर्न पनि कृषि व्यवसायमा अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए ।

अर्का पूर्वमन्त्री गणेश साहले कृषि पेशालाई राज्यले सम्मानीत दृष्टि दिन सकेमा युवा पुस्ताको आकर्याण बढ्ने बताउँदै कृषिलाई ऊर्जासँग जोडेर अन्नबाली उत्पादनदेखि वितरणसम्म व्यावसायिक सोच राख्न सकिएमा किसानको जीवनस्तर उड्नसक्ने विश्वास व्यक्त गरे । उनले गुणस्तरीय बिऊ, मलजस्ता सामग्रीको उपलब्धता, किसानको क्षमता अभिवृद्धिका लागि तालीम, अध्ययन–अनुसन्धान, सहज र सुलभ कर्जा उपलब्धताको उचित व्यवस्थापन गर्न सकिएमा निर्वाहमुखी कृषिबाट व्यावसायिक कृषिमा जान सकिन्छ भने ।

ऊर्जाविद् प्राडा जगन्नाथ श्रेष्ठले तराई, पहाड र उच्च पहाडी क्षेत्रमा समग्रमा १० लाख हेक्टर कृषियोग्य जमिन सिँचाइको सुविधा नभएकोले बाँझो रहेकाले सौर्य विद्युत पम्पिङ प्रणालीहरु जडान गर्नसकेमा उल्लेखनीय रुपमा खाद्यान्न उत्पादन वृद्धि गर्न सकिने धारणा राखे । कृषि उत्पादन सुकाउन, चिस्याउन, प्रशोधन गर्न नवीकरणीय ऊर्जाका विभिन्न उपयुक्त प्रविधि प्रयोग गरी खाद्य सुरक्षाको अवधारणालाई सफल तुल्याउन सकिने उनको भनाइ थियो ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारीले सरकारका नीति र कार्यक्रमअनुसार केन्द्रले वायोग्यास, सौर्य पम्पिङजस्ता नवीकरणीय ऊर्जा प्रविधिमार्फत कृषिको आधुनिकीकरण र विपन्न जनताको जीवनस्तर अभिवृद्धिमा काम गर्दै आएको उल्लेख गरे । कृषिमा जैविक इन्धनको निर्भरता अन्त्य गरी नवीकरणीय ऊर्जाबाट उत्पादन, प्रशोधन, भण्डारण, बजारीकरण र खेर जाने कृषि अवशेषको पुर्नप्रयोग गर्न सकिने हुँदा यसतर्फ केन्द्रले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको जानकारी गराए।

सो अवसरमा परिसङ्घका अध्यक्ष गुणराज ढकालले खाद्यान्न उत्पादन बढाई सबैका लागि खाद्य सामग्री पुर्याउन नवीकरणीय ऊर्जा प्रविधिको उपयोग गर्नुपर्ने र सोको लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

ऊर्जाविद् डा इन्दिरा शाक्यले कृषि व्यवसाय सुदृढ गर्नका लागि नवीकरणीय उर्जा प्रविधिहरु परिचालन गर्ने क्रममा लैंगिक दृष्टिकोणले महिला, गरीब, अपाङ्ग र सीमान्कृत समुदायको भूमिकालाई उचित प्राथमिकता दिने गरी नीति निर्माण र कार्यक्रम कार्यान्वयन हुनुपर्नेमा जोड दिए।

गोष्ठीमा नवीकरणीय ऊर्जा र कृषि क्षेत्रमा क्रियाशील रहँदै आउनुभएका मदन राई, बाबुराजा श्रेष्ठ, नवीन भुजेल, उत्तम सिटौला, विश्वप्रशन्न अमात्य, प्रदीप महर्जनलगायतका व्यक्तिहरुले पनि नवीकरणीय ऊर्जा प्रविधिको अधिकतम उपयोग गरी कृषि क्षेत्रको रुपान्तरण गर्न सकिने धारणा राखे। रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?