३ दिनमा २७ जिल्ला पुगे सलह, झुन्ड टुक्रिएर फैलने क्रम जारी

काठमाडौँ:

गत शनिबारदेखि नेपाल प्रवेश गर्न थालेको सलहको झुन्ड मंगलबारसम्म २७ जिल्लामा पुगेको पाइएको छ । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका किट विज्ञ एवं सलह सूचना केन्द्रका संयोजक रामकृष्ण सुवेदीका अनुसार मंगलबार साँझसम्म सलहका झुन्डहरू २७ जिल्लामा देखिएका हुन् ।

केन्द्रका अनुसार सलहका ५ वटा झुन्ड भारतबाट नेपालमा प्रवेश गरेका छन् । झुन्डहरू २७ जिल्लामा देखिएपनि अन्य स-सना समूहहरू भने अन्य जिल्लाहरूमा देखिएका छन् ।

सोमबार साँझ रुपन्देहीमा प्रवेश गरेको झुन्ड अहिलेसम्मकै ठूलो हो । उक्त झुन्डमा २०/२५ लाखको संख्यामा सलह रहेको सुवेदीले कान्तिपुरलाई बताए । भैरहवामा प्रवेश गरेको सो झुन्ड टुक्रिएर ३ तिर लागेको देखिन्छ । यो झुन्ड पश्चिम भेगतिर गइरहेको सलह सूचना केन्द्रले जनाएको छ ।

यो झुन्ड टुक्रिएर प्युठान र दाङ पुगेको छ । ‘एउटा झुन्ड दाङको लमही र घोराहीमा पुगेको छ,’ सुवेदीले भने, ‘अर्को झुन्ड प्युठानको सदरमुकामतिर फैलिँदै गएको छ ।’ प्युठान पुगेको उक्त झुन्ड टुक्रिएर रोल्पा हुँदै सल्यान पुगेको सुवेदीले जानकारी दिए । केही झुन्डहरू लमहीको सानो झुन्ड कृषि बालीमा बसेको र अर्को ठूलो झुन्ड राप्ती नदीको किनारमा बसेको सुवेदीले जानकारी दिए ।

यस्तै मंगलबार काठमाडौं उपत्यकाका ३ वटै जिल्लाहरूमा सलहका झुन्डहरू देखिएका छन् । असार १३ गते बारामा देखा परेको झुन्ड टुक्रदै मकवानपुरको मकवानपुर गढीमा बसेको थियो । उक्त झुन्ड पनि टुक्रिएर चितवन पुगेको थियो भने केही झुन्ड मकवानपुर हुँदै काठमाडौं उपत्यकाका प्रवेश गरेको सुवेदीले जानकारी दिए । याे खबर कान्तिपुर दैनिकमा छ ।

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments