सलह किरा भित्रिएपछि हिमाली जिल्ला म्याग्दीका कृषक चिन्तित

म्याग्दी : खेतीबालीका बिरुवा नष्ट गर्ने सलह किरा भित्रिएपछि हिमाली जिल्ला म्याग्दीका कृषक चिन्तित भएका छन् । बेनी नगरपालिका, अन्नपूर्ण, मालिका, रघुगङ्गा, मङ्गला र धवलागिरि गाउँपालिकामा मङ्गलबार सलह किरा भेटिएको हो ।

केही दिनअघि भारतबाट तराईका जिल्लामा भित्रिएको सलह पहाडी क्षेत्र हँुदै धवलागिरि हिमालको फेदीमा रहेको मुदीबाट उकालो लागेको छ । लाखौँको सङ्ख्यामा आकाशै छोपिने गरी म्याग्दी नदीको किनारैकिनार धवलागिरि हिमालतर्फ उडेका धवलागिरि–७ बगरका कृषक भुवानी पौडेलले जानकारी दिनुभयो ।
मङ्गला गाउँपालिकाको सयमुरे फाँटमा चार रोपनी खेतमा भर्खरै रोपिएको धानको बिरुवा सलहले नष्ट पारेको स्थानीय श्रीराम पौडेलले जानकारी दिनुभयो । मालिका गाउँपालिका–४ सिस्नेरीमा पनि सलहको हुल देखिएको स्थानीय बालकुमार सुनारले बताउनुभयो । अन्नपूर्ण गाउँपालिकाको दानामा पनि सलह देखिएको स्थानीय गङ्गा पुनले बताउनुभयो । कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख गोविन्दराज कोइरालाले सलहले पार्न सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सतर्कता अपनाउन आग्रह गरिएको बताउनुभयो ।

रघुगङ्गा गाउँपालिकाले एक किलो सलह नियन्त्रणमा लिनेलाई रु १५ का दरले व्यवस्थापन खर्च उपलब्ध गराउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । गाउँपालिकाभित्र सलह किरा देखिएमा खाडल पारी गाडेर प्रकोप बढ्नबाट जोगाउने कृषकरव्यक्तिहरुलाई प्रतिकेजी रु १५ का दरले व्यवस्थापन खर्च उपलब्ध गराउने निर्णय भएको अधिकृत सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सलह नियन्त्रणका लागि आगो फुक्ने, चर्को स्वर आउने बाध्ययन्त्रहरु बजाउने, रुख हल्लाउने, छोप्ने वा धपाउने गरेमा यसले क्षति पु¥याउन नपाउने कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत गोविन्द पाण्डेले बताउनुभयो । म्याग्दीमा अहिले खेतको मकैबाली भित्र्याउन शुरु भएको छ । बारीमा लगाएको मकैबाली हुर्किँदै छ । बारीमा कोदो र खेतमा धान रोप्ने चटारो छ । व्यावसायिकरूपमा टनेलबाहिर लगाइएको तरकारीबालीमा क्षति पु¥याउन सक्ने भएकाले कृषकलाई सचेत हुन आग्रह गरिएको छ । सलह समूहमा उड्ने तर एकै ठाउँमा नबस्ने जातको किरा हो ।रासस

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments