सांसद विकास कोषबाट ‘नमूना बृहत् स्याउ तथा ओखर बगैँचा’

खलङ्गा : जुम्लाका सांसद गजेन्द्रबहादुर महतको सांसद विकास पूर्वाधार कोषको आगामी वर्षको सम्पूर्ण बजेट नमूना स्याउ र ओखर बगैँचामा लगानी गरिने भएको छ । टुक्रे योजनाले खासै परिवर्तन नहुने भन्दै सांसद महतले ‘नमूना बृहत् स्याउ तथा ओखर बगँैचा’ बनाएर पूरै बस्तीलाई नै समेट्ने गरी एक वर्षको सांसद विकास पूर्वाधारको सबै बजेट प्रयोग गरिने सांसद महतले बताउनुभयो ।

बृहत् बगैँचाका लागि कृषि क्षेत्र तथा पशुपक्षी विज्ञ, कृषि अनुसन्धान विज्ञहरुसँग राय सल्लाहसमेत मागिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोन कार्यालयको सहजीकरणमा सुपरजोनसहित कृषि विकास कार्यालय, कृषि अनुसन्धान केन्द्र, उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान, पशुपालन तथा भेटेरिनरी अस्पताल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भेडाबाख्रा केन्द्र गुठिचौरका प्रमुखहरुको सहभागितामा बृहत् चक्लाबन्दी बगैँचाका लागि कसरी अगाडि बढ्ने, प्राविधिक विषयहरु के के हुन् र कसरी सफल हुने भन्ने विषयमा छलफल गरिएको छ ।

यहाँको तातोपानी गाउँपालिकाको गौतमबाडादेखि डाँगीवाडासम्मको जमीनलाई घेरबार, सिँचाइदेखि संरक्षण गरी नमूना उत्पादन क्षेत्र बनाइने सांसद महतले जानकारी दिए ।

छलफलमा कृषि अनुसन्धान केन्द्र राजिकोटका प्रमुख राजकुमार गिरीले गुणस्तरीय कलमी व्यवस्थापन, सिँचाइदेखि प्राविधिक विषयमा बढी ध्यान दिने हो भने स्याउ बगैँचा उत्तम हुने बताउनुभयो । कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बगैँचा क्षेत्रको जग्गालाई २० वर्षका लागि लिजमा लिनुपर्ने, स्वादिष्ट र उन्नत जातको स्याउ रोप्नुपर्ने, बगैँचा क्षेत्रमा ‘एप्पल कटेज’ समेत योजना बनाइनुपर्ने सुझाव दिनुभयो ।

पशुसेवा तथा भेटरिनरी अस्पतालका प्रमुख गोविन्द महतले बगैँचा क्षेत्रमा पशुपालनको प्याकेज पनि थपे राम्रो हुने बताउनुभयो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख अमित भुषण सुमनले स्याउका परिकार बनाउने कुरामा लागनी आवश्यक रहेको बताउनुभयो । उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठानका निर्देशक डा तीर्थ रिजालले जुम्ला प्रकृतिको वरदानका साथै कृषिको सम्भावित क्षेत्र भएकाले अनुसन्धानलाई जोड दिएर अडि बढ्न सूझाव दिनुभयो । उहाँले अहिले मार्सी धानको विकल्पमा चन्दननाथ १ को अनुसन्धान भइसकेको बताउनुभयो । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments