बजार नपाउँदा लाखौँको तरकारी नष्ट

उर्लाबारी: लामो समयसम्मको बन्दाबन्दीका कारण समयमा नै बजार पाउन नसकेपछि लाखौँ रुपियाँ खर्चेर लगाएको तरकारी बारीमा नै नष्ट भएको छ । मोरङको उर्लाबारीस्थित पाठशाला कृषि सहकारी संस्थाका सेयर सदस्यले लगाएको तरकारी बारीमा नै कुहिएपछि लाखौँ रुपियाँ घाटा बेहोर्नुपरेको हो ।

गत वर्ष तरकारी खेतीबाट साढे नौ लाख रुपियाँ आम्दानी गरेको पाठशाला कृषि सहकारी संस्थाले यो वर्ष २४ लाख ७८ रुपियाँ आम्दानी गर्ने लक्ष्यसहित तरकारी खेती गरेको थियो । संस्थाका अध्यक्ष दुर्गाप्रसाद खतिवडाले भन्नुभयो, “तरकारी खेतीमा मात्रै छ लाख रुपियाँ खर्च भएको छ । संस्थाले तीन वर्षयता चार बिघा ११ कट्ठा जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेती गरिरहेको छ । ” माघमा १५ कट्ठामा लगाएको टमाटरबाट १५ लाख रुपियाँ आम्दानी लिने लक्ष्य थियो । अध्यक्ष खतिवडाले भन्नुभयो, “गत वर्ष तीन हजार सात सय बोट टमाटरले साढे सात लाख आम्दानी दिएको थियो । गत वर्ष राम्रो आम्दानी भएपछि यो वर्ष पाँच लाख खर्च गरेर सात हजार बोट टमाटर लगायौँ । राम्रो फल्यो तर बिक्री गर्ने बेलामा बन्दाबन्दी सुरु भएपछि बारीमै कुहिएर सकियो । ”

गत वर्षको अनुभवले व्यावसायिक तरकारीको राम्रो सम्भावना देखेपछि साधारण सभाले नै तरकारी खेतीलाई प्राथमिकतामा राख्यो । सोहीअनुसार सहकारीले दुई बिघा चार कट्ठामा छ लाख रुपियाँ खर्च गरेर टमाटर, करेला, लौका, बोडी, भिन्डी र फर्सीको व्यावसायिक खेती गरेको हो । अध्यक्ष खतिवडाका अनुसार संस्थाले टमाटर १५ कट्ठामा, करेला सात कट्ठामा, लौका चार कट्ठामा, घिरौँला चार कट्ठामा, फर्सी पाँच कट्ठामा, भिन्डी सात कट्ठामा र बोडी अढाइ कट्ठामा लगाएको थियो । हाल बोडी, करेला र घिरौँला सामान्य बिक्री भइरहेको भए पनि मुख्य रूपमा लगाएको बेमौसमी तरकारी बिक्री गर्न नपाउँदा सहकारीलाई आर्थिक घाटा भइरहेको छ ।

तरकारीको अभाव र बढी माग हुने समयलाई लक्षित गरी उत्पादन गरिएको तरकारी सोही समयमा बन्दाबन्दी भएपछि बिक्री गर्न नपाएको सहकारी संस्थाका सदस्यको भनाइ छ ।

तरकारी खेतीबाट घाटा हुँदैन भन्ने सुनिश्चित भएपछि खेती सुरु गरेका हौँ तर बन्दाबन्दीले बिक्री गर्न पाएनौँ । अहिले पनि बारीमा तीन÷चार लाख रुपियाँको तरकारी छ । समाचार र पत्रपत्रिकामा ६० रुपियाँमा उपभोक्ताले किनेर खाएको समाचार आउँछ तर हामी २० रुपियाँ किलोमा किनिदेऊ भन्दै व्यापारीको ढोकामा पुग्दा पनि किन्दैनन् ।

पाठशाला कृषि सहकारी संस्था लि. उर्लाबारी–६ ले गरेको तरकारीको व्यावसायिक खेती । हाल बारीमा घिरौँला, करेला र बोडी बिक्री नभएर कुहिँदै झर्न थालेका छन् । गोरखापत्र अनलाइनमा खबर छ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments