किसानलाई अनुदानमा हाते ट्याक्टर

डिबी बुढा
जुम्ला :
जुम्लाका ४० जना किसानलाई हाते ट्याक्टर प्रदान गरिएको छ। परम्परागत कृषि प्रणालीलाई यान्त्रिकरण र व्यवसायीकरण गर्न कृषि विकास कार्यालय जुम्लाले हाते ट्याक्टर अनुदानमा प्रदान गरेको हो। प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रमअन्तर्गत उपलब्ध बजेट र किसानको मागका आधारमा जिल्लाका विभिन्न व्यक्ति, समुह, फर्म र सहकारीलाई अनुदानमा हाते ट्याक्टर वितरण गरिएको स्याउ सुपरजोन जुम्लाका प्रमुख नवराज भण्डारीले जानकारी दिए।

आर्थिक वर्ष २०७६ र ०७७ को यान्त्रिकरण वितरण कार्यविधिअनुसार पकेट तथा व्लक कार्यक्रममा आएको बजेटले ४० वटा हाते ट्याक्टर वितरण गरिएको उनले बताए। .हाते ट्याक्टर मार्फत कृषि कर्ममा लागेका किसानलाई आधुनिक कृषि प्रणालीसंग जोड्न सजिलो हुने र खेत तथा पाखोबारीमा पनि सजिलै प्रयोग गर्न सकिने भएको किसानलाई हाते ट्याक्टर दिइएको हो।

पछिल्लो समय गाउँघरमा भएका युवा विदेश पलायन हुने समस्याले कृषि यान्त्रीकरणका लागि हाते ट्याक्टर नै उपयुक्त हुने कृषि विज्ञ बताउँछन्। जुम्लाको आर्थिक समृद्धिका लागि कृषि नै पहिलो रोजाई भएकाले अब कृषि र बन पैदावारको औद्योगिकरण गरी रोजगारीमा ध्यान दिन आवश्यक रहेको छ, प्रमुख भण्डारीले थपे,‘सहुलियत अनुदानमा गरिएको वितरणले यहाँको कृषि उत्पादनमा यान्त्रीकरणको प्रयोग बढ्ने र उत्पादनले समेत बजार पाउने देखिन्छ।’

कृषिमा यान्त्रिककरण र आधुनिकिकरणको अभावले हिमाली क्षेत्रमा लक्ष्य अनुसारको उब्जनी हुन सकेको छैन्। परम्परागत शैलीमा गरिने खेतीपातीले उत्पादकत्व ह्रास हुदैै गईरहेको छ । खनजोत देखि मलजल सम्मका विविध पक्षमा आबश्यक ज्ञान तथा साधन नहुँदा पनि हिमाली जिल्लाको कृषि क्षेत्रमा निकै समस्या देखिएको छ। बढि बलौटे माटो रहेको हिमाली क्षेत्रमा नत कुनै आधुनिक औजारको प्रयोग हुन्छ, नत कृषिको लागि नयाँ ज्ञान नै छ, सुपरजोनका प्रमुख भण्डारी भन्छन्,‘ सबै पुरानै शैलीले गर्दा रैथाने बालीहरु विस्तापित हुदै जान थाल्यो। सयौँ रोपनी जग्गाहरु बाझो हुन थाले । किसानलाई आधुनिकीकरण तर्फ लिन आवश्यक रहेको छ।’

गाउँ गाउँमा सडक पुगेका छन्। खानेपानी शिक्षा, संचारमा पनि उतिकै प्रथामिकता छ। कृषि क्षेत्रको समृद्धिका लागि यहाँका व्यवसायिक कृषकलाई आधुनिक हाते ट्याक्टर(मिनिटिलर) वितरण गरेको हो। खनजोतमा सहजता होस्,खनजोतकै अभावले बाझा रहेका जग्गाहरु प्रयोगमा आउन् भन्ने उद्देश्यले हाते ट्याक्टर दिइएको हो। इन्धन मार्फत संचालन हुने आधुनिक मिनिटिलर खेतमा खनजोत गर्छ।.भने सबै जग्गा सदुपयोग भए उत्पादन बृद्धि हुने अनुमान गरिएको छ। तर घर भन्दा टाढा रहेका जग्गामा गोरुद्धारा हलो लिई खनजोत गर्न नसकि बाँझो रहेका जग्गा अब प्रयोगमा आउने किसानको भनाइ छ। नागरिक दैनिकमा खबर छ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments