मुलुकभर ६० प्रतिशत रोपाइँ सकियो
काठमाडौं : मुलुकभर ६० प्रतिशतभन्दा बढी रोपाइँ सकिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार २२ असारसम्म ६० देखि ६३ प्रतिशत रोपाइँ सकिएको हो ।
यो वर्ष असारको सुरुबाटै मनसुन भएकाले रोपाइँमा उल्लेख्य सफलता मिलेको हो । सुदूरपश्चिम प्रदेशमा जेठ तेस्रो सातापछि नै रोपाइँ सुरु भएको थियो । गत वर्षको तुलनामा यसपटक रोपाइँ छिट्टै भएका कारण उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ । गत वर्ष यही अवधिमा २३.८० प्रतिशत रोपाइँ भएको थियो ।
मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीका अनुसार १३ लाख ७१ हजार ७ सय ६ हेक्टरमा रोपाइँ हुनेछ । गत वर्ष पनि यति नै क्षेत्रफलमा रोपाइँ भएको थियो । धानखेतीका लागि १५ लाख हेक्टरभन्दा बढी क्षेत्रफल योग्य भए पनि जनशक्ति अभावमा बाँझो राख्ने, बर्सेनि आउने बढीले जमिन कटान गर्ने, पहिरोले गिटी, बालुवा थुपार्ने, बाढीले डुबानमा पार्नेलगायतका कारण धानखेती हुने क्षेत्रफलमा बिस्तारै कमी आउन थालेको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म कर्णाली र सुदूरपश्चिम क्षेत्रमा रोपाइँ धेरै सकिएको छ । कर्णालीमा ७९ दशमलव ७५ प्रतिशत र सुदूरपश्चिममा ७५ दशमलव ८६ प्रतिशत रोपाइँ सकिएको छ । तर, यी दुवै क्षेत्रमा धानखेती हुने क्षेत्रफल कम छ । धान रोपाइँका लागि खेतीयोग्य जमिन धेरै भएको प्रदेश १ र २ मा भने करिब आधा जमिनमा रोपाइँ सकिएको छ ।
प्रदेश १ मा ५१ दशमलव ५४ प्रतिशत र प्रदेश २ मा ५० दशमलव २२ प्रतिशत रोपाइँ सकिएको छ । प्रदेश ५ मा ३ लाख ३ हजार हेक्टरमा रोपाइँ हुने अनुमान छ । यो प्रदेशमा अहिलेसम्म ७५ दशमलव ७८ प्रतिशत रोपाइँ सकिएको छ ।नया पत्रिकामा खबर छ।
