गल्कोटको २ सय ६० रोपनीमा कागती खेती

व्यावसायिक खेती

स्याङ्जा, गल्याङ नगरपालिका ११ गल्कोटबासीले २ सय ६० रोपनी जग्गामा कागती लगायत तरकारी खेती सुरु गरेका छन्। स्थानीयबासीले सामुहिक एवं ब्यक्तिगत खेती सुरु गरेका हुन्। कोरोना भाइरस संक्रमणको बेला यहाँका स्थानीय सतर्कता अपनाइ सामुहिक खेतीमा जुटेका हुन्।

गल्कोट कागती पकेट क्षेत्र घोषणा गरी किसानले कागतीसहित तरकारी लगाएका हुन्। बन्दाबन्दीले गाउँमा जनशक्ति जुटाएको छ। गाँउले मिलेर बाँझा जग्गा जमिनको सदुपयोग गरेका छन्। झाडी, बुट्यान र बनमासाले ढाकिएका जग्गा जमिन हरियाली बनेका छन्।

प्रधानमन्त्री कृषि आधुनिकरण कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्रले गल्कोटलाई कागती पकेट क्षेत्र घोषणा गरेको छ। किसानले २ सय ६० रोपनी जग्गामा ८ हजार बढी कागतीका बिरुवा यसै साता रोपेका छन्।‘किसानले ८० रोपनीमा ३ हजार ५ सय बोट सामुहिक र १ सय ८० रोपनीमा व्यक्तिगत कागती लगाएका छन्’, समूहका सचिव चिन्तामणी अर्याल भने, ‘कृषि ज्ञान केन्द्रले १६ लाख ३६ हजार ७५ रुपैयाँ अनुदान दिएको हो भने २७ लाख रुपैयाँ किसानको लगानी छ।’

चार-चार मिटरको दुरीमा लगाइएको कागतीको बिचमा अकबरे खुर्सानी, सिमी, भिण्डी, भटमासका बिरुवा पनि रोपिएका छन्। केही बाँझा जग्गा र केही परम्परागत खेती गरिरहेका जग्गामा तरकारी तथा फलफूल लगाएका छन्। परम्परागत खेती प्रणालीलाई सुधार गर्दै आधुनिक प्रविधि र ज्ञानका उपयोग गर्दे आर्थिकोपार्जनमा जुटाउन कृषि ज्ञान केन्द्रले गल्कोट छनौट गरेर कागती पकेट क्षेत्र घोषणा गरेको केन्द्र प्रमुख शालिकराम अधिकारीको भनाइ छ। उनका अनुसार गल्कोट तरकारी तथा कागती खेतीका लागि उपयुक्त छ।

‘किसानले पनि धेरै मेहनतका साथ काम गरे। कागतीका लागि आवश्यकता अनुरुपका खाडल खनी मल, कृषि चुन राखेर बिरुवा लगाइएका छन्’, समूहका अध्यक्ष देवीलाल अर्यालले भने, ‘समूहमा ५७ घरका ५७ सदस्य छन्।’यी कागती ३ वर्षमा फल्ने र पाँच वर्षमा प्रतिबोट एक सय ५० किलो कागती उत्पादन लिने लक्ष्य किसानको छ। सुन्तला जात अनुसन्धान केन्द्र पारिजातले धनकुटाबाट विरुवा ल्याइएको हो। तीनपाते जंगली सुन्तलाको जरामा सुनकागतीको ५ वर्षे हाँगा जोडेर बनाइएको कलमी बिरुवा भएकाले ३ वर्षमै उत्पादन दिने किसानको भनाइ छ।

उपयुक्त माटो, हावापानी भए पनि अहिलेसम्म यहाँका किसानले कतैबाट सहयोग पाउन नसकेकोमा किसानको गुनासो छ। डाँडामा बस्ती र खेतीयोग्य जग्गा जमिन भएकाले किसानका लागि पानी र सिंचाईको असुविधा छ। किसानले वर्षे पानीको भरमा खेतीपाती गर्दे आएको जनाए। बैशाख खनजोत, जेठमा खाडल खन्ने र असारमा कागती रोप्ने मौसम हो। वर्षको दुई-चार पटक गोडमल गरेपछि राम्रो फल दिने हुँदा कागती खेती गर्न त्यती कठिन हुँदैन। छिटै बिग्रने र कुहिने डर निकै कम हुन्छ। कागतीले २० देखि ३० वर्षसम्म फल दिने हुँदा कम उत्पादन लागतमै राम्रो नगद आर्जन गर्न सकिन्छ।अन्नपुर्ण पोस्ट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?