चिया निर्यातमा दोहोरो खर्च झेल्दै बिक्रेता

इलाम। तयारी चिया भारत लैजानका लागि चिया बिक्रेताले यस पटक दोहोरो खर्च झेल्नुपरेको छ ।

चिया लैजानका लागि भन्सारमा आवश्यक पर्ने ‘सिएफएल’ दुवै नाकाबाट बनाउनु पर्दा बिक्रेताले दोहोरो खर्च झेल्नुपरेको हो ।

बन्दाबन्दीको समयमा चिया लान विराटनगर–जोगमनी नाकाबाट ‘सिएफएल’ बनाएका बिक्रेताले फेरि काँकडभिट्टा नाकाबाट लाँँदा पनि बनाउनुपर्याे । एक चोटी बनाएको ‘सिएफएल’ले छ महिना काम दिने भए पनि यसपटक भने दुई महिनामै बनाउनु पर्दा दोहोरो खर्च लागेको सूर्योदय नगरपालिकास्थित कन्यामका चिया उद्योगी सूर्य खड्का बताउँछन् ।

जेठमा मात्र जोगमनी नाकाबाट चिया लैजानका लागि ‘सिएफएल’ बनाउनु भएका खड्काले असार मसान्त नभई फेरि काँकडभिट्टा नाकाबाट बनाउनुपर्यो । “जोगमनी नाकाबाट जम्मा दुई गाडी मात्र चिया लगेका थिए ।” खड्काले भने, “दोहोरो खर्च लाग्यो । नाका फेर्दा । गएको वर्ष त्यस्तो पर्दैनथ्यो ।” सधैँ नेपालबाट निर्यात हुने चिया काँकडभिट्टाबाट जाने गरे पनि यस वर्ष भने जोगमनी नाकाबाट चिया निर्यात गर्नुपरेको थियो ।

बन्दाबन्दीका समयमा नाका परिवर्तन हुँदा केही दिन अघिसम्म जोगमनी नाकाबाट चिया निर्यात भएको थियो । नाका परिवर्तन हुँदा ‘ठूलो यातायात खर्च’ बुझाउनु परेका विक्रेताले ‘सिएफएल’ खर्च पनि दोहोरो बुझाउँदा झनै समस्यामा परेका हुन् । नाका परिवर्तन हुँदा विक्रेताले दोहोरो खर्च बुझाउनु परेको चिया उद्यमी गोपाल कट्टेल बताउँछन् ।

“हामीले यहाँ (फिक्कल)बाट काँकडभिट्टा पुर्याउँदा गाडी भाडा रु २२ हजार पाँच सयमा हुन्थ्यो भने जोगमनी पुर्याउन रु ३२ हजार पाँच सय लाग्छ ।” कट्टेलले भने, “यसरी नाका फेर्दा धेर खर्च त लाग्यो तर फेरि यता काँकडभिट्टा नै ल्याउँदा झन बढी खर्च लाग्यो ।” जोगमनी नाकाबाट निर्यात हुँदै गरेको चिया गत असार १८ गते काँकडभिट्टा नाका खुलाएपछि फेरि सोही नाका भएर जान थालेको हो ।

‘उद्योगीले हतार गर्दा दोहोरो मारमा’

चिया निर्यातमा दोहोरो मारमा परेको भनेपछि अर्का उद्योगी उदय चापागाईंले भने चिया निर्यातमा हतार गर्दा समस्या परेको बताएका छन् । चिया उद्योगीले काँकडभिट्टा भन्सार खुल्ने जान्दाजान्दै जोगमनीबाट चिया निर्यात गर्दा समस्या भोग्नुपरेको बताए। उनले चिया निर्यातमा उद्यमीले हतार नगरेको भए समस्या नहुने उल्लेख गरे । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?