जुम्लामा फलेन स्याउ, किसान चिन्तित

खलङ्गा, जुम्लामा यो वर्ष स्याउ नफलेपछि यहाँका किसान चिन्तित भएका छन् । स्याउको फूलमा तुषारोले खाएपछि यस वर्ष फल नलागेर उत्पादनमा कमी आउने चिन्ताले किसानलाई सताएको छ ।

धेरैजसो स्याउका बोटमा यस वर्ष छिटफुट मात्रै फल लागेको तिला गाउँपालिका–१ स्याउ किसान महेन्द्र बढाले बताए । ‘‘के कारणले फल नलागेको हो, थाहा भएन तर यस वर्ष पहिलेका वर्षहरुमा जस्तो उत्पादन नहुने भएको छ’’, उनले भने । तातोपानी गाउँपालिका–४ का किसान प्रेमराज पाण्डेका अनुसार यो वर्ष स्याउका बोटमा खासै फल देखिँदैन । आफ्नो बगैँचा भएको रडिखेल्ला क्षेत्रका सबै स्याउका रुखमा फल छैनन् । उनले भने, “स्याउ फूूल्ने बेलामा कालो तुषारो लागेपछि फल लाग्न पाएन ।” बर्सेनि तीन टनभन्दा बढी फल्ने गरेको यो वर्ष निकै घाटा लाग्ने पाण्डेले बताए।

स्याउ बिक्री गरेर गुजारा चलाउनुपर्ने किसान यस वर्ष उत्पादनमा कमी आउने भएपछि अहिलेदेखि नै चिन्तित बनेका छन् । सिंजा गाउँपालिका–४ निवासी किसान मुनबहादुर रावलको बगैँचा जिल्लाकै उत्कृष्ट बगैँचामध्ये एक मानिन्थ्यो । उनको बगैँचामा अहिले एक हजार २५० स्याउ बिरुवा र २५० ओखर गरी एक हजार ५०० बिरुवा छन् तर उनका बगैँचामा खासै स्याउका रुखमा फल लागेको छैन ।

स्याउ उत्पादन घट्दै

कृषि विकास कार्यालय जुम्लाका अनुसार आर्थिक वर्ष २०७६/७७ मा जिल्लामा १२ हजार मेट्रिक टन स्याउ उत्पादन भएको थियो । आर्थिक वर्ष २०७५/७६ मा छ हजार ५०० मेट्रिक टन स्याउ उत्पादन भएको र आर्थिक वर्ष २०७४/७५ मा पाँच हजार ५०० टन स्याउ उत्पादन भएको कार्यालय प्रमुख बालकराम देवकोटाले बताए ।

कार्यालयका अनुसार उत्पादन भएको स्याउमध्ये छ हजार ५०० मेट्रिक टन निर्यात भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोन कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत नवराज भण्डारीका अनुसार ४० प्रतिशत स्याउ घट्ने अनुुमान गरिएको छ । उनका अनुसार कालो तुषारो र असिनाले असिनाले स्याउमा फल नटिकेपछि किसानलाई घाटा हुने भएको र बीमाका लागि पहल भइरहेको छ । चाँडै फूल फुलेको स्याउमा तुषारोले क्षति पुर्याएको बताए।

अनुसन्धान भएन

किसानलाई यति ठूलो क्षति हुँदा पनि सरोकारवाला निकाय मौन भएको देख्दा किसान आफैँ चिन्तित भएका छन् । स्याउ किसान रामसिंह रावलका अनुसार अहिले जिल्लाभरि स्याउमा फल नभएको सबैलाई थाहा छ तर सरोकारवाला निकाय टुलुटुलु हेरिरहेका छन् ।रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments