धानखेतीमा झारनाशक विषादीको प्रयोग बढ्दै

बाँझो जमिन

टीकापुर। कैलालीमा धानखेतीमा झारनाशक विषादीको प्रयोग बढ्दै गएको छ । अनावश्यकरुपमा उम्रने झारले उत्पादनमा असर पारेकाले विषादीको प्रयोग बढाएको किसानको भनाइ छ ।

टीकापुरको वनगाउँका सुन्दरबहादुर चौधरीले एक बिघा जमिनमा विषादी छरे । “धानमा झार उम्रन थालेको थियो । पशु प्राविधिकसँग सल्लाह गरी विषादी छर्किएँ”, उनले भने, “ झार उखेल्न कामदार लगाउनुभन्दा विषादी छर्न सहज लाग्यो ।”

कृषि क्षेत्रका प्रविधिको विकाससँगै किसानलाई खेती गर्न सहज पनि भएको छ । किसानलाई आवश्यक मल, बीउ, विषादी र खेतीका लागि आवश्यक प्राविधिक ज्ञान सहज पाएमा कृषिमा किसानको जाँगर थपिने किसान रामलाल डगौरा बताउँछन् । ‘‘खेत जोत्ने मेशिन छन्, धान काट्ने, दाउने पनि मेशिन आएका छन्’’, उनले भने, ‘‘अब खेती गर्न सजिलो छ । खेती गर्दा आवश्यक विषादी पनि सहजै पाइन्छ । कृषि कार्यालय पनिसहयोगी छन् ।’’

जानकी गाउँपालिका कृषि शाखाका प्रमुख लालबिर चौधरीले किसानले धान खेतीमा उम्रिएको झार काट्नुभन्दा बिषादी प्रयोग सहज मान्न थालेको जानकारी दिए । ‘‘विगतका वर्ष धानमा उम्रने झार काट्ने वा उखेल्ने चलन थियो, झार तथा घाँस बढी भए धान उत्पादनमा असर पार्छ’’, उनी भन्छन्, ‘‘अहिलेका किसान उम्रन थाल्नेबित्तिकै विषादी छर्छन् । अनि घाँसको पनि अभाव हुन्छ ।’’

झारनाशक विषादीको प्रयोगले धान उत्पादनमा वृद्धि हुने किसान बताउँछन् । धान उत्पादनमात्र नभई धानमा उम्रिएको झार हटाउन आवश्यक जनशक्ति पनि चाहिँदैन । झार निकाल्नुपर्ने समस्या नै टर्ने भएकाले झारनाशक विषादीको प्रयोग बढेको क्षेत्रीय बीउविजन प्रयोगशाला कञ्चनपुरका बाली विकास अधिकृत सिद्धराज उपाध्यायले बताए ।

झारनासक विषादी धान रोपेको ५ दिनदेखि ३० दिनको अवधिमा झारका किसिम हेरीसोहीअनुसार विषादीको प्रयोग किसानले गर्दछन् । झारनाशक विषादीको प्रयोगले उत्पादन बृद्धिसँगै माटोको उर्भराशक्तिमा समेत प्रभाव नपार्ने भएकोले समयमै झारको पहिचान गरी झारनाशक विषादीको प्रयोग गर्न सिफारिस विषादीको प्रयोग गर्नुपर्ने उनले सुझाव दिए । ‘‘धान खेतीअनुसार विषादीको प्रयोग गर्ने समय हुन्छ । झार पनि चिन्नुपर्ने हुन्छ’’, बाली विकास अधिकृत उपाध्याय भन्छन्, ‘‘त्यसैले प्राविधिकको सल्लाह लिएर मात्र विषादीको प्रयोग गर्न राम्रो हुन्छ ।’’

झारनाशक विषादीको प्रयोग एक बालीको लागि मात्र प्रभावकारी रुपमा रहने भएकाले अर्को बालीलाई नोक्सान गर्दैन । यसको प्रयोगले धान खेतीमा ३ महिनासम्म प्रभाव रहने कृषि प्राविधिकको भनाइ छ । विषादीको प्रयोगले उत्पादनमा वृद्धि भए पनि त्यसबाट प्राप्त हुने पराल पशु चौपायाको लागि स्वस्थकर नहुने भएकाले किसानले यसमा ध्यान दिन आवश्यक रहेको जनाइउको छ । उनले भने, ‘‘सकेसम्म झार मानिसले उखेलेर फालेको राम्रो हो । ’’ विषादी छरेको धानको पराल पशुका लागि स्वस्थकर मानिदैन । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments