मन्त्री केसीद्वारा सलह प्रभावित क्षेत्रको स्थलगत अनुगमन

कर्णाली: कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले सलह प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्नुभएको छ । उहाँ सहित नेकपा कर्णाली प्रदेशका सचेतक सीता नेपाली, कृषि विकास निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकाय, मन्त्रालयका सूचना अधिकारी धनबहादुर कठायतले सोमबार भेरीगङ्गा नगरपालिका–१३ सुर्खेत रामघाटमा सलहले मकै तथा भटमास बालीमा पारेको क्षतिको स्थलगत अवलोकन गर्नुभएको हो ।

सो अवसरमा मन्त्री केसीले १३ नं वडाका कृषकसँग के–कति क्षति भयो भन्ने विषयमा छलफल पनि गर्नुभयो । सलहले पारेको क्षतिको यकिन गरी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकबाट किसानलाई आवश्यक सहयोग गर्ने उहाँको भनाइ थियो । छलफलमा उहाँले रामघाट कृषिका हिसाबले सम्भाव्य र महत्वपूर्ण ठाउँ भएकाले किसानलाई अघि बढेर मेहेनतका साथ काम गर्न आग्रह गर्नुभयो । नेकपा कर्णाली प्रदेशका सचेतक नेपालीले रामघाट बत्तीमुनिको अँध्यारोजस्तै सो वडाको अवस्था रहेको कुरा व्यक्त गर्नुभयो ।

“उत्पादनयोग्य भूमि छ तर यहाँ पिछडिएका दलितहरुको बस्ती धेरै छ”, उहाँले भन्नुभयो, “सरकारसँग सहजै पहुँच नहुँदा सम्भावना र अवसर थुपै्र भए पनि सुगमभित्र दुर्गम भएर रामघाट विकासमा पछाडि परेको छ ।” स्थानीय किसान पवित्रा परियारले यही साउन ३ गते आएको सलहले मकैबाली पूर्णरूपले नष्ट पारेको दुखेसो पोख्नुभयो । उहाँले गाउँमै मन्त्री आएर हेर्नु भएकाले भोकै मर्नुपर्ने अवस्था नआउने विश्वास व्यक्त गर्दै सकेसम्म काम गरेर खाने योजना दिन आग्रह गर्नुभयो । सोही वडाका नमूना गाउँ टोलका अध्यक्ष पदमबहादुर वलीले भेरीगङ्गा नगरपालिका–९, ११, १३ र १२ का जनताको स्थायी लालपुर्जा नभएकाले सो स्थायी गर्दिन आग्रह गर्नुभएको थियो ।

त्यसैगरी कृषिमन्त्री केसीको टोलीले सुर्खेत भेरीगङ्गा, गुर्भाकोट र लेकबेँसी नगरपालिकाका विभिन्न योजना एवं कार्यक्रमको अनुगमन, अध्ययन तथा अवलोकन गरेको छ । कृषि तथा सहकारी मन्त्रालय र त्यस मातहतका कृषि तथा पशुपक्षी विकास निर्देशनालयअन्तर्गत निर्माण सम्पन्न भएका कार्यक्रम तथा योजनाको अनुगमन, अध्ययन तथा अवलोकन गरिएको हो । टोलीले भेरीगङ्गा नगरपालिका–३ स्थित बोक्सेमा कृषि वन कार्यक्रममार्फत नर्सरी निर्माण कार्यक्रमको अनुगमन गरेको छ । त्यस्तै भेरीगङ्गा–१० सुर्खेतस्थित झिलमिलेडाँडामा निर्माण भएको २०० सय मेट्रिक टन अट्ने क्षमताको कर्णालीको सबैभन्दा ठूलो शीतभण्डारको अनुगमन, अवलोकन तथा अध्ययन गरिएको छ ।

अवलोकनका क्रममा प्रदेश सरकारले सहयोग गरेको बजेटको सही सदुपयोग भएको र कार्यक्रमको प्रभावकारिताबारे सकरात्मक समीक्षा गरिएको थियो । त्यसैगरी कृषिमन्त्री केसीले गुर्भाकोट नगरपालिका–९ सुर्खेतको बोटेचौरमा प्रदेश सरकारको रु एक करोड बजेट सहयोगमा निर्माण भएको कर्णालीको एकमात्र हाइटेक नर्सरी, युद्ध पर्यटनलाई प्रवद्र्धन गर्ने हेतुले लेकबेँसी नगरपालिका–३ सुर्खेतको दशरथपुरस्थित निर्माणाधीन अवस्थामा रहेको शहीद उद्यानसमेतको अध्ययन अवलोकन गर्नुभएको थियो । (रासस)

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments