पोखराको कोसेली टुसा बिक्री खुल्ला, एक करोडको व्यापार

एकराज गिरी
पोखरा।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले बिक्री अनुमति दिएपछि पोखरा बजारमा टुसाको बिक्री सुरु भएको छ । एक्यापले यस वर्षका लागि माछापुच्छ्रे गाउँपालिका–१, २ को सार्दीखोला, वडा नं. ८ र ९ को ल्वाङबाट तीन लाख मुठा टुसा बिक्री अनुमति दिएको थियो ।

विगतको भन्दा टुसाको उत्पादन बढेकाले स्थानीयको आयस्रोतमा थप टेवा पुग्ने उद्देश्यले टुसा बिक्रीका लागि साउन १६ देखि टुसा बिक्री वितरण गर्न अनुमति दिएको इलाका संरक्षण कार्यालय ल्वाङ व्यवस्थापन समितिकाका सचिव सुकबहादुर तामाङ जानकारी दिनुभयो । पोखरामा घोरे, मालिङ्गे र जडीबुटी प्रजातिका टुसा पाइने गरेको छ । टुसाका लागि ब्राण्ड नै बनेको पोखरामा मात्र नभएर बाहिरका शहरहरूमा समेत माग बढ्न थालेपछि टुसा बिक्री बढेको व्यवसायीहरू बताउँछन् ।

टुसा समुद्री सतहदेखि २५ सय मिटरदेखि ३५ सय मिटरको उचाइसम्म पाइन्छ । कास्कीको विभिन्न ठाँउबाट वार्षिक एक करोड रुपियाँ बराबरको टुसा पोखराको बजार तथा अन्य शहरसम्म पुग्ने तामाङले बताउनुभयो । निश्चित समयसीमा तोकेर टुसा टिप्ने स्वीकृति एक्यापले दिने गरेपछि अहिले पोखराको बजारमा प्रतिमुठा ८० रुपियाँमा बिक्री भैरहेको छ । ‘हामीले टुसा सङ्कलन गर्नेलाई प्रतिमुठा २५ रुपियाँ दिने र प्रतिमुठा ३५ रुपियाँमा बिक्री गर्ने गरेका छौँ, बिचौलियाका कारण बजारसम्म पुग्दा त्यसकाे मूल्य ८० रुपियाँ पर्दो रहेछ ।’ तामाङले भन्नुभयो ।

टुसा पोखरामा मात्रै पाइने भएकाले अन्य शहरमा विशेष गरी कोसेलीको रुपमा लैजाने गरिन्छ । पोखराको चिप्लुढुङगामा टुसा किन्दै गर्नुभएकी तारा थापाले तरकारी खान मिठो हुने बताउनुभयो । यहीँको जङ्गलमा पाइने भएकाले अर्गानिक हुने र वर्षको एक पटक नयाँ तरकारी खान पाइने भएकाले सधै किन्ने गरेको बताउनुभयो । टुसा सबैलाई मनपर्ने भएकाले यसको माग बढ्दो रहेको व्यवसायी कमला अधिकारीले बताउनुभयो गोरखापत्र अनलाइनमा खबर छ

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?