खाद्यवस्तुको मूल्यवृद्धि गत वर्षको भन्दा दोब्बर

काठमाडौँ, ९ भदाै ।कोभिड १९ का कारण बेरोजगारी बढिरहेको अवस्थामा खाद्यान्नको मूल्य पनि अकासिएको छ। दैनिक उपभोग्य वस्तु खाद्यान्न र तरकारीको मूल्य बढेपछि आम्दानी कम हुनेलाई भान्सा चलाउन हम्मेहम्मे परेको छ।

काठमाडौं उपत्यकालगायत मुलुकका ५२ जिल्लामा निषेधाज्ञाका कारण खपत घटिरहेका बेला केही तरकारीको भाउ सतप्रतिशतसम्म महँगो भएको छ। तरकारीको खपत घटेको बेला मूल्य घट्नुपर्नेमा ठीक उल्टो भएर भाउ बढेको हो। कोरोनाका कारण क्रयशक्ति गुमाइरहेका बेला महँगी बढेपछि दैनिक ज्यालादारी गर्ने, निजी क्षेत्रमा काम गर्ने, सानोतिनो व्यवसाय गर्ने र विद्यार्थी मर्कामा परेका छन्।

नेपाल राष्ट्र बैंकका अनुसार खाद्यवस्तुको मूल्य वृद्धि दर गत सालको तुलनामा दोब्बरभन्दा बढी छ। राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार खाद्य तथा पेय पदार्थमा मुद्रास्फीति ८.१६ प्रतिशत पुगेको छ। पोहोरको तुलनामा मुद्रास्फीति ५.०७ प्रतिशतले बढेको हो। पोहोर खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति वृद्धिदर ३.०९ प्रतिशतमा सीमित थियो।

कोरोनाको कारण उपत्यकालगायत अधिकांश जिल्लामा निषेधाज्ञा हुँदा आयात तथा ढुवानीमा कठिनाइ भएपछि भाउ बढेको व्यापारी बताउँछन्।

गत वर्षको तुलनामा आलुको भाउ एक सय १९ प्रतिशत बढेको छ। पोहोर भदौ पहिलो साता २६ रूपैयाँ किलोमा बिक्री भएको आलु अहिले बढेर ५९ रूपैयाँ पुगेको छ। काउलीको भाउ करिब सतप्रतिशत बढेको छ। याे खबर नागरिक दैनिकमा छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments