फुर्सदिला थारू समुदायका महिला ढकिया बुन्दै

टीकापुर। कैलालीको जोशीपुरकी रामप्यारी चौधरी आजभोलि निकै व्यस्त छिन् । रामप्यारीको दैनिकी आजभोलि ढकिया, ढकली, फेरुवा, भौकाभौकी, डेलुवा, डेलै, पनछोप्नी, पैन बनाउनमा व्यस्त छ । फुर्सदको समयमा रामप्यारीले वर्षेनी यी सामग्री बुन्ने काम गर्छिन् । रामप्यारीले यसरी बुनेका सामान धनगढीमा रहेको दिदीको पसलमा बिक्रीका लागि पठाउँछिन् ।

“खेतीपाती सकेपछि जानेको सीप प्रयोग गरी घरमै विभिन्न घर सजावटका सामग्री बनाउँछु”, रामप्यारीले भनिन्, “पहिले पहिले त्यत्तिकै गिफ्टका रूपमा दिने चलन थियो, तर आजभोलि बुनेको सामान बिक्री पनि हुन्छ । तीन वर्षदेखि बिक्री गर्न थालेकी छु ।” ढकीयालगायतका सामग्री बिक्रीबाट रामप्यारीको आम्दानी पनि ठीकै हुन्छ । “गत वर्ष ३० हजारका ढकिया, ढकलीलगायत सामान बेचेँ यसरी बनाएका सामान वर्षौँसम्म चल्छन्, रङ्गीविरङ्गी सामान मानिसलाई किन्न पनि मनपर्छ”, उनी भन्छिन्, “यस वर्ष खेतीपाती सकेर काममा लागेकी छु, लकडाउन छ कतै जानु छैन, फुर्सदमा बुन्छु, पछि आम्दानी भैहाल्छ ।”

थारू समुदायको महिलाले हस्तकला र सीपको प्रयोग गरी ढकिया बनाउने कार्य उनीहरुको परम्परागत सीप हो । अन्य समयभन्दा खेतीपाती सकिएसँगै थारू महिला प्रायः ढकिया बनाउने गर्दछन् । खेतीपातीको कामबाट फुर्सदिला बनेका महिला साउन र भदौमा हातको कला र सीपको प्रयोग गरीयस्ता सामग्री बनाउने टीकापुर १ बनगाउँकी मीना चौधरीले बताइन् । “यसरी घरमै बनाएका सामान घर सजावट मात्र नभई सरसामान राख्न, अन्नपात बोक्न, आफन्त तथा चेलीबेटीलाई कोशेली दिन समेत काम लाग्छन्”, मीनाले भनिन्, “यो सीप नयाँपुस्ताका युवतीले भने अँगालेको देखिँदैन, युवापुस्ताले समेत यस्ता सीप अँगाल्न र संरक्षण गर्न आवश्यक छ ।”

फुर्सदको समयमा मात्र नभएर सामग्री बनाउन प्रयोग हुने सामग्री यस सिजनमा राम्रो, अनुकूल हुने भएकाले साउन र भदौ महिनामा प्रायः थारू महिलाले हस्तकलाका सामग्री बनाउने उनले बताइन् । घरायसी प्रयोजन तथा शृङ्गारिक हस्तवस्तुका रूपमा प्रयोग हुने सामान बनाउँदा जति कलात्मकरूपमा बनाउन सकिन्छ त्यति राम्रो र आकर्षक देखिन्छ । उनीहरुले ढकियामा वनस्पतिलाई रङ्गिन बनाइ सीपको प्रयोग गरी आकर्षक बनाउन बनोटअनुसार ढाँचा र चित्रहरु बनाउने गरेका हुन्छन् । “हस्तकलाका सामानमा विभिन्न पशुपक्षीको कलात्मक बुट्टा बनाएका हुन्छौँ”, जानकी–४ की गीता कठरियाले भनिन्, “महिलाको कलात्मक सीपसमेत सामग्रीमा देखिन्छ ।”

पूजाआजा र शुभकार्यका लागि प्रयोग गरिने, विवाहमा दाइजो तथा मृत्युवरणको बेला दानको रुपमा ढकिया दिने थारू समुदायको चलन छ । यससँगै थारू समुदायको कुनै औपचारिक कार्यक्रम भएमा स्वागतका लागि यसको प्रयोग गर्ने गरिन्छ । “अतिथिलाई उपहारका रुपमा ‘ढकिया’ दिने चलन छ”, टीकापुर–९ की सुस्मीता चौधरी भन्छिन्, “ढकिया थारूको पहिचान हो । यसको व्यवसाय गरेमा राम्रो आम्दानी लिन पनि सकिन्छ । एउटा ढकिया रु एकदेखि पाँच हजारसम्म बिक्री हुन्छ ।”

ढकिया थारू समुदायका महिलाले मात्र कलात्मकरुपमा वरिपरि पाइने वनस्पतिको प्रयोग गरी सिर्जना गर्ने गरेका हुन्छन् । वनमा पाइने बाँस र मुज घाँसबाट ढकिया निर्माण गरिन्छ । यस्ता सामग्रीलाई व्यावसायिकता दिन कैलालीको जानकी गाउँपालिकाले गत वर्ष डेढ महिना तालिम आयोजना गरेको थियो । “थारू महिलामा रहेका सीपलाई व्यावसायिक बनाउन तालिम दिएका हौँ, अब सीपलाई उत्पादनसँग जोड्न आवश्यक छ”, गाउँपालिका उपाध्यक्ष उमा महतोले भनिन्, “परम्परागत सीपलाई व्यवसायसँग जोड्ने महिलालाई सघाउने नीति गाउँपालिकाको छ ।”

्थारू समुदायको पहिचानसँग जोडिएको ‘ढकिया’ बनाउने परम्परागत थारू सीप जोगाउन आवश्यक रहेको उनले बताइन्। नयाँ पुस्ताले ‘ढकिया’ बुन्ने पेशा नअङ्गाल्दा लोप हुने अवस्थामा पुगेको गुनासो बढेपछि गाउँपालिकाले युवापुस्तालाई समेटेर तालिम दिएको हो । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?