घाँसको व्यावसायिक उत्पादन हुँदै

प्युठान। प्युठान ऐरावती गाउँपालिका–६ बिजुली बैरेनीका लालमणि पाण्डेले व्यावसायिक रुपमा घाँसका विरुवा उत्पादन गर्दै आउनुभएको छ । चालिस वर्षीय पाण्डेले १३ वर्षसम्म अस्थायी करारमा साविकका २४ गाविसमा सामाजिक परिचालकको जागिर छोडेपछि व्यवसायिक रुपमा घाँसका विरुवा उत्पादन शुरु गरेको बताउनुभयो ।

विसं २०७३ मा उहाँले घरेलु तथा साना उद्योग कार्यालय र पशु कार्यालयमा क्षितिज बाख्रा तथा घाँसेवाली बीउबेर्ना नामक फर्म दर्ता गरी व्यवसाय शुरु गर्नुभएको थियो । पहिलो वर्षको चार महिनामै नर्सरीबाट विरुवा उत्पादन गरी बिक्री वितरण गरेको बताउनुभयो । पाण्डेले आफ्नै पाखो बारी र खेतमा करीब चार रोपनी क्षेत्रफलमा घाँसका विरुवा उत्पादन गरेको बताउनुभयो । हाल फर्ममा डाले र मसिनो गरी करिब १४ हजार घाँसका विरुवा उत्पादन भएका छन् ।

उहाँले घाँसका विरुवाहरु बिक्री गरेर आर्थिक उपार्जन समेत आर्जन गर्दै आउनुभएको छ । पहिलो वर्ष रु. १५ हजार, दोस्रो वर्ष रु ६० हजार, तेश्रो वर्ष रु. ६१ हजारबराबरको घास बिक्री गरेको सञ्चालक पाण्डेले बताउनुभयो । त्यस्तै गत असारमा रु. एक लाख २० हजारको घास उत्पादन गरेपनि रु ३७ हजार बराबरको मात्र घाँसका विरुवा बेच्न सफल हुनुभएको छ ।

पाण्डेले गाउँपालिकाबाट रु।५० हजार अनुदान र आफ्नो लगानीमा रु.२५ हजार गरी रु ७५ हजार लगानीमा घाँसका विरुवा उत्पादन व्यवसाय शुरु गर्नुभएको थियो । व्यवसायलाई फस्टाउनका लागि स्थानीय तहमा पशु कार्यालयबाट किसानहरुलाई प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिएमा व्यवसायमा फाइदा पुग्ने उहाँले बताउनुभयो । पाण्डेले घाँसका विरुवा उत्पादनसँगै बाख्रापालन समेत गर्नुभएको छ । हाल उहाँको फर्ममा १४ वटा बोयर क्रस बाख्रा रहेको छ ।

रासस

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments