राजधानीका व्यवसायी खोटाङ फर्किएर कृषि पेशा शुरु

खोटाङ । ग्रामीण क्षेत्रका अधिकांश मानिस सुविधा तथा रोजगारीको खोजीमा गाउँबाट शहर पस्छन् । आफ्नो व्यक्तिगत इच्छा तथा अरुको लहैलहैमा शहर छिरेका कतिपयले शहरमा राम्रै रोजगारी पाएका छन् भने, कतिपयले भोग्नुसम्मको दुःख भोगिरहेका छन् । तर, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेविस्थानस्थित माथिल्लो माल्खुका सुवीन्द्र गिरी लामो समयको काठमाडौँ बसाइपछि आफ्नो गाउँ फर्किएर कृषि पेशा शुरु गरेका छन् ।

राजधानी काठमाडौँस्थित चावहिलमा टेलरिङ व्यवसाय सञ्चालन गरेका गिरीले रु ३२ लाख लगानी गरेर दूधजन्य परिकार उत्पादन गर्न गाई फार्म, मासुका लागि स्थानीय जातको कुखुरा र टर्की फार्म स्थापना गरेका हुन् ।

हिन्दु, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीबाट ककनी मन्दिर र रक गार्डेन (ढुङ्गे बगैँचा) जाने बाटोमा उनको गाई तथा कुखुरा फार्म अवलोकन गर्न सकिन्छ । “काठमाडौँमा सञ्चालन गरिएको टेलरिङ व्यवसायबाट मेरो कमाइ राम्रै थियो”, उनले भने, “आफ्नै गाउँमा कृषि पेशाबाट पनि केहि गर्न सकिन्छ भन्ने लागेर गाउँ फर्किएर गाई फार्म सञ्चालन गरेको हुँ ।” सुवीन्द्रको आफ्नै दिदी प्रमिला गिरीको सहयोगमा सञ्चालित गाई फार्ममा शुरुको चरणमा काठमाडौँबाट जर्सी र होलिस्टीन जातको छवटा गाई ल्याइएका थिए । गत वर्षबाट सञ्चालनमा ल्याइएको गाई फर्ममा अहिले दूध दिने माउ गाई र बाच्छाबाच्छीसहित ११ गाई रहेका छन् ।

करीब ४० रोपनी जग्गामा शुरु गरिएको फार्ममा रहेको सात वटा लैनो गाईले दैनिक ४० देखि ४५ लिटर दूध दिने गरेको सुवीन्द्रले बताए । “फार्ममा उत्पादित केहि दूध, दही र घ्यू हलेसी बजारमा खपत हुने गरेको छ”, उनले भने, “पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमणका कारण उत्पादित दूधलाई बजार अभाव भएको छ ।” फलफूल तथा तरकारी खेतीसमेत लगाइएको सुवीन्द्रको फार्ममा अहिले स्थानीय जातका २०० कुखुरा बिक्रीका लागि तयारी अवस्थामा छन् । दोस्रो खोरमा ४०० कुखुरा हुर्किरहेका छन् भने, तेस्रो खोरमा २०० चल्ला हुर्कँदैछन् ।

आधिकारिक रुपमा ‘हलेसी कृषि तथा पशुपालन फार्म’ दर्ता शुरु फार्ममा पालिएका कुखुराबाट सबैभन्दा बढी आम्दानी हुने गरेको सुवीन्द्रको भनाइ छ । “छुट्टाछुट्टै खोर बनाएर राखिएको कुखुरा एउटा खोरबाट बिक्री हुँदै गर्छ, अर्को खोरमा हुर्किरहेको हुन्छ”, उनले भने, “अहिले स्थानीय जातका कुखुरा फार्मबाटै प्रति किलोग्राम भाले रु ७०० र पोथी रु ६०० मा बिक्री गर्ने गरिएको छ ।”

सुवीन्द्रको फार्ममा पालिएको टर्कीको मासु (खानलाई तयार पारिएको) प्रति किलोग्राम रु एक हजारमा बिक्री हुने गरेको जनाइएको छ । उक्त फार्ममा टर्कीको अण्डासमेत उत्पादन गर्ने गरिएको छ । सुवीन्द्रको फार्ममा पालिएका गाईका लागि दाना काठमाडौँ तथा भुस्सा तराईबाट ल्याउने गरिएको छ । हिउँदको समयमा पानीको अभाव हुँदा दूधकोशी नदीबाट ट्याङ्करमा ओसारिएको पानी खुवाउनुपर्ने बाध्यता छ । गाई, कुखुरा, टर्की र तरकारी खेती गर्दै आएका सुवीन्द्रले बट्टाई र परेवासमेत पाल्ने तयारी गरेका छन् । त्रिधार्मिकस्थल हलेसीमा आउने दर्शनार्थी एवम् पर्यटकलाई लक्षित गर्दै गाई, कुखुरा र टर्की पालनमा लगानी गरेको उनको भनाइ छ ।

टेलरिङबाट सन्तोषजनक आम्दानी भइरहेको भएपनि ‘गाउँमै केही गरौं’ भन्ने सोचले लगानी गरेको सुवीन्द्रले बताएका छन् । “आफ्नो ठाउँ भनेको आफ्नो ठाउँ हो”, उनले भने, “काठमाडौँ मै लगानी गर्दा पनि हुन्थ्यो तर, गाउँमै केही गरौँ अरुले पनि सिक्छन् भन्ने मेरो सोच हो ।” पशु तथा कृषि विज्ञ केन्द्र उदयपुरमार्फत पशु ज्ञान केन्द्र खोटाङबाट गोठ सुधारका लागि रु दुई लाख र वडा कार्यालयले एउटा टनेल उपलब्ध गराएको सुवीन्द्रले बताए । फार्म सञ्चालन गरेपछि डेरी सञ्चालनसम्बन्धी कृषि ज्ञान केन्द्र खोटाङमार्फत सातदिने तालीमसमेत लिएको बताए ।

सुवीन्द्रको फार्म भएकै क्षेत्रमा उनकै नेतृत्वमा ‘हलेसी सामुदायिक होमस्टे (घरबास) माल्खु’ समेत सञ्चालनको तयारी गरिएको छ । नेपाल सरकारद्वारा गठित हलेसी विकास समितिको पहलमा २२ घर स्थानीय बासिन्दालाई समेटेर हिन्दु संस्कारमा आधारित होमस्टे सञ्चालनको तयारी गरिएको हो । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?