आठ घण्टा लाइन बस्दा पनि कृषकले मल पाएनन्

किसान मोर्चा

दमौली। तनहुँको व्यास नगरपालिका–११ स्थित तनहुँसुरका सीता थापा मल आउने थाहा पाएपछि शुक्रबार बिहानै सार्वजनिक सवारी नचलेकाले हिँडेर दमौली आइन् । बिहान आठ बजेदेखि नै मल लिन लाइनमा बसेकी उनले दिउँसो ४ः३० बजे हुँदासम्म पनि मल पाइनन् ।

“मल पाइने आशमा दिनभर लाइनमा बस्यौ, तर पाइएन,” उनले भनिन्, “मल सकिएको पनि होइन, मल छ तर भोलि आउनु भन्छन् ।” मल हुँदाहुँदै पनि ४ः३० बजे नै डिपो बन्द गरेर मल विक्री वितरण रोकेको उनले गुनासो गरिन् । उनले कसैले ३५/४० किलोसम्म मल पाएपनि कसैले भने रित्तो हात फर्कनुपरेको बताइन्।

कलेस्तीकी पूजा कुमाल बिहान ९ः३० बजेदेखि मल लिन लाइनमा बसिन् । दिनभर लाइनमा बस्दा पनि उनले मल पाएनन् । “गाडी चलेको छैन, बिहानभर हिँडेरै दमौली आएर लाइनमा बसियो, तर बेलुका भएपछि भोलि आउनु भनेर पठाए,” कुमालले भनिन्, “भोलि पनि आएर पाउने निश्चित छैन ।” केबल १० किलो मलका लागि दिनभर लाइनमा बस्नुपरेपनि नपाएको उनको गुनासो छ । “कोरोनाको जोखिममा भीडभाड गरेर लाइनमा बस्न कसलाई बाध्यता छ र,” कुमालले भनिन्, “धानमा मल हाल्न नपाएर धान कुहिन लागिसक्यो, तर मल खोज्दाखोज्दै हैरान भइयो ।” उनलाई कोरोना भन्दा धान कुहिएला की भन्ने चिन्ता छ । “अलि अलि खेती गरेको धान मल हाल्न नपाएर कुहियो भने के खाने ?,” उनले प्रश्न गरिन् ।

कलेस्तीकै जौमाया कुमालले दिनभर भोकभोकै लाइनमा बसेपनि मल नपाएपछि रित्तै हात घर फर्कनुपरेको बताइन्। चिनेका मान्छेलाई जतिबेला पनि मल दिएको तर आफूहरुले भने नपाएको उनको गुनासो छ । साँगेका विवि राईले चाहिएको बेला मल नपाएपछि कृषि पेशाप्रति नै आकर्षण घट्न सक्ने बताइन्। “भन्नलाई कृषिप्रधान देश भनिन्छ तर चाहिएको बेला मल पाइँदैन, एक रोपनी क्षेत्रफलमा धान खेती गरेको छु । धेरै चोटी प्रयास गरे तर मल पाउन सकिन,” उनले भनिन्।

दमौलीस्थित नविन उपभोक्ता सहकारी मार्फत् मल बिक्री गर्ने दुई डिपोमा एक ट्रक मल आएको थियो । डिपोमा मल हुँदाहुँदै कृषकलाई वितरण नगरेपछि मलका लागि लाइनमा बसेका कृषकले शुक्रबार साँझ नै प्रमुख जिल्ला अधिकारी सागर आचार्यलाई भेटेर मल उपलब्ध गराइदिन माग गरे । प्रमुख जिल्ला अधिकारी आचार्यले साल्ट ट्रेडिङमार्फत् आएको मल बाँकी भएको भए कृषकलाई बिक्री गर्न सम्बन्धित डिपोलाई अनुरोध गरिएको जानकारी दिए। उनले भने, “सहजीकरण गर्न प्रहरीलाई निर्देशन दिएको छु ।”

प्रमुख जिल्ला अधिकारी आचार्यको आश्वासनपछि पुनः डिपोमा पुगेका कृषकले मल पाएनन् । त्यसबीचमा डिपोका प्रतिनिधिहरु डिपो बन्द गरेर हिँडिसकेका थिए । नविन उपभोक्ता सहकारी संस्थाका अध्यक्ष र प्रतिनिधिलाई सम्पर्क गर्न खोजेपनि फोन उठेन । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments