सल्यानमा नौ हजार मेट्रिक टन खाद्यान्न बचत

चामल

सल्यान, देशका पहाडी र हिमाली जिल्लामा पर्याप्त खाद्यान्न उत्पादन नहुँदा तराईका जिल्लाको भर पर्नुपर्ने बाध्यता छ । पछिल्लो समय पहाडी जिल्ला सल्यान भने खाद्यान्नमा आत्मनिर्भर हुँदै बचत गर्ने अवस्थामा पुग्न सफल भएको छ ।

केही वर्षअघिसम्म जिल्लामा उत्पादित खाद्यान्नले अपुग हुने सल्यान यतिबेला भने बचतको अवस्थामा पुगेको हो । खाद्यबालीअन्तर्गत धान, मकै, कोदो र गहुँलगायत बालीको पछिल्लो समयमा उत्पादन बढेसँगै खाद्यान्नमा आत्मनिर्भर भई बचतका अवस्थामा पुगेको कृषि विकास कार्यालयले जनाएको छ ।

मौसमी तालमेल, कृषिमा आधुनिकीकरण, प्रविधिको प्रयोग, मलखाद, उन्नत बीउ तथा कृषकको सक्रियताका कारण सल्यान खाद्यान्न बचतका अवस्थामा पुगेको कृषि विकास कार्यालयका प्रमुख महेश आचार्यले जानकारी दिए।

बचत भएको उत्पादित वस्तु निर्यातमा समस्या नभएको उनको भनाइ छ । कृषकले आफ्नै घरआँगनबाटै बचत खाद्यान्न बिक्रीवितरण गर्दै आएको आचार्यको भनाइ छ । गत आर्थिक वर्ष २०७६ ०७७ मा ९७ हजार ६६४ मेट्रिक टन खाद्यान्न उत्पादन भएकामा जिल्लामा खपत भई ८ हजार ७४३ मेट्रिक टन खाद्यान्न बचत रहेको कृषि विकास कार्यालयका सूचना अधिकारी रेशमकुमार बस्नेतले बताए ।

“जिल्लामा गत आर्थिक वर्षमा १६ हजार १०४ मेट्रिक टन धान, ५१ हजार १७३ मेट्रिक टन मकै, २९ हजार १३८ मेट्रिक टन गहुँ, ९२१ मेट्रिक टन कोदो र ३२५ मेट्रिक टन जौ उत्पादन भएको छ जसमा सात हजार ७८ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ”, सूचना अधिकारी बस्नेतले भने ।

यस्तै १९ हजार ३३५ हेक्टर क्षेत्रफलमा मकै, १४ हजार २१७ हेक्टर क्षेत्रफलमा गहुँ, ६७५ हेक्टर क्षेत्रफलमा कोदो र एक हजार ४० हेक्टर क्षेत्रफलमा जौ खेती हुने गरेको कार्यालयले जनाएको छ । जिल्लामा हाल प्रतिव्यक्ति वार्षिक २०१ किलो खाद्यान्न आवश्यक पर्छ ।

जिल्लामा उत्पादित कुल खाद्यान्नमध्ये ५४ हजार ७३८ मेट्रिक टन खाद्यान्न जिल्लामा आवश्यक पर्छ । यस्तै कुल उत्पादनको पाँच प्रतिशत अर्थात् चार हजार ८८३ मेट्रिक टन खाद्यान्न मादक पदार्थ बनाउनमा प्रयोग हुने गरेको छ । पशु आहारमा भने ३० प्रतिशत अर्थात् २९ हजार २९९ मेट्रिक टन खाद्यान्न प्रयोग हुने गरेको कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

जिल्लामा रहेको बाँझो जमीन उपयोगमा ल्याउनाका साथै व्यावसायीकरण र आधुनिकीकरण गर्न सके जिल्लामा खाद्यान्न उत्पादनमा अझै वृद्धि हुने कृषि विकास कार्यालयले जनाएको छ । रासस

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments