केरा खेतीमा खपटे घुन र गबारोको प्रकोप : किसान चिन्तित

गलेश्वर। म्याग्दीमा गरिएको व्यावसायिक केरा खेतीमा खपटे घुन र गवाँरो रोगको प्रकोप देखिएको छ ।

जिल्लाको बेनी नगरपालिका २ खबरा, बगरफाँटका साथै मङ्गला र मालिका गाउँपालिकाका विभिन्न क्षेत्रमा गरिएको व्यावसायिक केराखेतीमा रोगको प्रकोप देखिएपछि किसानहरु चिन्तित भएका छन् ।

केरा गाउँको रुपमा परिचय बनाएको बेनी नगरपालिका २ खबरा गाउँमा खपटे घुनले सयौं रोपनी क्षेत्रफलमा लगाएको केराका बोट सुक्न थालेका छन्। केरा खेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका खबराका सोवित शर्मा केराका बोट नपसाउँदै सुक्न थालेपछि चिन्तित छन्। उनले सात रोपनीमा केरा खेती गरेका छन्। खपटे घुनले पसाएको केरामा दाग देखिने, केराको बोट सुक्दै जाने, बोट ढल्ने र उत्पादन पनि घट्दै गएपछि पेशा सङ्कटमा परेको शर्माले बताए । यहाँको सिङ्गो गाउँका कृषक केरा खेतीमा संलग्न छन् । शुरुआतमा सामान्य देखिएपनि केही समय पछि भने खेतीमा ठुलो क्षति पुर्याएको उनको भनाइ छ ।

हजारी जातको केरा खेतीबाट वार्षिक तीन लाख रुपैयाँ आम्दानी हुँदै आएकोमा रोगको प्रकोपले यस वर्ष उत्पादन र आम्दानी घटेको छ । उनले भने, “झ्याङ भएको केरामा किरा र रोग लागेपछि शुरूमा पात सुक्दै जान्छ । त्यसपछि गुबो र विस्तारै बोट मर्ने गरेको छ ।” उपचारका लागि बोट वरिपरी काँटछाँट, सफाई गर्ने र कृषि प्राविधिकको सिफारिसमा किटनाशक औषधि छर्कदै आएको कृषक शर्माले जानकारी दिए ।

रोकथाम र उपचारमा समन्वय गर्न नसक्दा क्षति पुगेको व्यावसायिक केराखेती गर्दै आएका अर्का कृषक हिरा कुवँरले गुनासो गरे । “लगानी पनि उठ्न गाह्रो हुने देखियो, पसाउन शुरू गरेको केराको पात सुकेर बोट मर्न थाल्छ”, उनले भने । बेनी नगरपालिकासँगै जिल्लाका मालिका, अन्नपुर्ण, रघुगङ्गा र मङ्गला गाउँपालिकाका किसानले व्यावसायीक केरा खेती गर्दै आएका छन् । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?