मल नपाउँदा उत्पादन घट्ने चिन्ता

रासायनिक मल

कर्णाली: कर्णालीमा गत असारदेखि नै रासायनिक मल (युरिया) अभाव भएपछि वीरेन्द्रनगर नगरपालिका–११ का किसान कलवीर चौधरीलाई उत्पादन घट्ने चिन्ताले सताएको छ । रोपाइँ गर्ने बेलादेखि नै मलको अभाव झेलेका उनले यसपटक वर्षभरि पुग्ने खाद्यान्न उत्पादन नहुने गुनासो गरे ।

अधियाँमा धान खेती गरेका वीरेन्द्रनगर–३ का कमल रिजालले गोडमेल गर्नुपर्ने बेलाको धान पहेंलिँदा पनि मल पाएनन् । ‘अहिलेको जस्तो दुःख त कहिल्यै भएन,’ उनले भने, ‘रोप्ने बेलामा पनि मल थिएन, गोडमेल गर्ने बेलामा पनि मल छैन ।’

चौधरी र रिजाल जस्तै सुर्खेतका किसान अहिले मल नपाउँदा कृषि सामग्री केन्द्र, जिल्ला कृषि कार्यालय र अघिल्ला वर्षहरूमा मल वितरण गर्दै आएका सहकारीमा दैनिक धाइरहन्छन् । तर मल नपाउँदा रित्तो हात फर्कनुपरेको छ । जताततै अभाव भएपछि स्थानीयस्तरमा मल बिक्रीका लागि अनुमति पाएका सहकारी संस्थाले मल उपलब्ध गराउन नसकेका हुन् ।

धान गोडमेल गर्ने सिजन सुरु भए पनि मलबिनै खेत गोडमेल गर्नुपरेपछि किसानलाई उब्जनी कम हुने चिन्ता छ । कोरोना भाइरसका कारण सरकारले ४ महिना लामो लकडाउन गरेपछि मलको अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । देशभर रासायनिक मलको अभाव भएकाले कर्णालीमा पनि प्रभाव परेको लिमिटेडको प्रादेशिक कार्यालयका प्रमुख टोपाराम गौतमले बताए । ‘युरिया त असारदेखि नै छैन,’ उनले भने, ‘डीएपी र पोटास मल भैरहवा आइपुगेको छ ।’

उनका अनुसार वीरेन्द्रनगरस्थित मंगलगढी चोकबाट बसपार्क हुँदै गोदामसम्म आइपुग्ने बाटो कालोपत्र हुन लागेकाले भैरहवाबाट मल ल्याउन समस्या भएको छ । अघिल्ला वर्षहरूमा यतिबेला कम्पनीमा करिब डेढ सय टन मल ढुवानी हुन्थ्यो । कान्तिपुर दैनिकमा खबर छ ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments