ठेकेदारको लापरवाहीले ८ सय क्वीन्टल चामल धनगढीमै थन्कियो, दार्चुलामा बढ्यो महँगी

चामल

गत आर्थिक वर्षका लागि अपिहिमाल गाउँपालिकाको खण्डेश्वरी डिपो र व्यासको सुनसेरा डिपोका लागि माग गरिएबमोजिम खाद्यान्न ढुवानी हुन नसक्दा अहिले जिल्लामा खाद्यान्न महंँगो हुँदै गएको छ। व्यास र अपि हिमाल जोड्ने सडक अवरुद्ध भएसँगै गाउँमा खाद्यान्नको मूल्य महंँगो भएको हो।

गत वर्ष सुनसेरा डिपोका लागि एक हजार ६ सय ३० क्वीन्टल खाद्यान्न ढुवानी भएको थियो। गाउँपालिकाबाट थप आठ सय क्वीन्टल खाद्यान्न माग गरिएको भए पनि ठेकेदारले समयमै ढुवानी गर्न नसक्दा खाद्य संस्थानको धनगढी डिपोमै थन्किएको हो।

यस्तै अपिहिमाल गाउँपालिकाले गत वर्ष दुई हजार ५९९ क्वीन्टल खाद्यान्न ढुवानी गरेको थियो भने थप गरिएको एक हजार क्वीन्टल खाद्यान्न ठेकेदारले ढुवानी गर्न नसकेको नेपाल खाद्य संस्थान धनगढी प्रमुख अनिल श्रेष्ठले बताए। ‘कोरोना भाइसरका कारण स्थानीय तहले खाद्य संस्थानकै चामल ल्याएर राहत बाँड्दा खाद्यान्न बढी ढुवानी भएको देखिन्छ,’ उनले भने, ‘तर माग गरेअनुसारको खाद्यान्न समयमै उठ्न नसक्दा गोदाममै थन्कियो।’

यस्तै गत वर्ष व्यास–१ छांगरु बिक्री केन्द्रमा दुई सय क्वीन्टल खाद्यान्न ढुवानी भएको थियो। निर्धारण गरिएको कोटा भन्दा खाद्यान्न माग गरिएपछि खरिद गरिएको धान कुटाउँदै पहाड पठाइएको उनले बताए।

यो वर्ष पनि दार्चुलाका दुई डिपो र दुई बिक्री केन्द्रका लागि बोलपत्र स्वीकृत भइसकेको छ। आशय पत्र खोल्ने बित्तिकै ठेकेदारसँग सम्झौता गरेर हिमाली जिल्लामा खाद्यान्न पठाउने तयारी गरिएको खाद्य संस्थान प्रमुख श्रेष्ठले जानकारी दिए।

यो वर्ष अपि हिमालको खण्डेश्वरी डिपोका लागि दुई हजार क्वीन्टल र व्यासको सुनसेरा डिपोका लागि एक हजार क्वीन्टल चामल ढुवानीका लागि बोलपत्र आह्वान गरिएको छ। नयाँ थप गरिएको छांगरु बिक्री केन्द्रका लागि पाँच सय क्वीन्टल र व्यासकै वडा नम्बर २ राप्ला बिक्री केन्द्रका लागि पाँच सय क्वीन्टल खाद्यान्नका लागि पहिलो चरणमा बोलपत्र आह्वान गरिएको छ।

जिल्लाका ग्रामीण क्षेत्रमा भने यो वर्ष सडक बन्द हुनु र कोभिडका कारण नियमित यातायात सूचारु नहुँदा खाद्यान्नको मूल्य आकाशिएको छ। अहिले गाउँमा स्थानीयवासीले खाद्यान्नको मूल्य छोइ नसक्नुभएको व्यासका दानसिह कार्कीले बताए। व्यास–५ की धाना कुँवर गाउँमा बजारबाट आउने चामल निकै महंँगो भएको बताउँछन्। रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?