जङ्गली जनावरले बाली नष्ट गर्दै, किसान चिन्तित

खेतीपाती नष्ट

डोटी। पछिल्लो केही समययता डोटीका विभिन्न स्थानीय तहमा जङ्गली जनावरले किसानले लगाएका बालीनाली नोक्सान गर्न थालेका छन् ।

जिल्लाका जोरायल, बडिकेदार, सायल, पूर्वीचौकी, आदर्श, बोगटान फुड्सिल, केआइसिंह गाउँपालिका तथा शिखर, दिपायल सिलगढी नगरपालिकाका विभिन्न वडा क्षेत्रमा जङ्गली जनावरले भित्र्याउने अवस्थामा रहेको बालीनाली नोक्सान गर्न थालेपछि किसान चिन्तिन बनेका छन् ।

पाकेको बालीनाली राति आउने जङ्गली जनावरले खाएर तथा बिगारेर नोक्सान गर्न थालेपछि यहाँका किसानलाई समस्या भएको छ ।

खप्तड राष्ट्रिय निकुञ्जलगायतका क्षेत्रबाट आउने जङ्गली बँदेल, दुम्सी, स्याल तथा बाँदरले कोदो, मकै तथा धानबाली नष्ट गर्न थालेपछि किसान खेतमा गएर रात काट्न बाध्य भएको जोरायल गाउँपालिका–५ फलेडाका किसान लालबहादुर सार्कीले बताए । उनले भने, “बर्सातको समयमा दुःख गरेर जोगाएको बालीनाली भित्र्याउने समयमा जङ्गली जनावरले सखाप गर्न थालेको छ, जनावर धपाउन खेतमै टहरा बनाएर हामी रातभर जाग्राम बस्न थालेका छौँ ।”

त्यसैगरी जिल्लाकै शिखर नगरपालिका–३ आलीअतुरालीको मटेला खेतमा जङ्गली जनावरले धान र कोदोबाली आधा भाग नष्ट गरेको किसान खगेन्द्रबहादुर बोगटीले जानकारी दिए। उनका अनुसार सो वडाका अधिकांश किसानले लगाएको धानबाली दिउँसो बाँदर र राति बँदेललगायत अन्य जनावरको बथानले नष्ट गरेपछि किसानका खेत करिब–करिब बाँझो अवस्थामा पुगेका छन् ।

जिल्लाका किसान अहिले आफ्नो अन्नबाली जोगाउन राति समूह बनाएर खेतको ठाउँठाउँमा पालको छानो बनाएर समूहमा बस्नुका साथै थाल, डिब्बा र कोलाहल मच्चाएर जनावर धपाउन थालेको केआइसिंह गाउँपालिका–५ की स्थानीयवासी चेतराज भट्टले बताए। उनले भने, “दिनमा बाँदरको आतङ्क तथा राति अन्य जनावरको आतङ्कले हामीले राम्रोसँग सुत्नसमेत पाएका छैनौँ, हल्ला गरे पनि भाग्दैनन्, समस्या भएको छ ।” रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?