धानबालीमा फड्के किराको प्रकोप :किसानलाई सकस

काठमाडौं । कञ्चनपुरको तीन वटा स्थानीय तहमा धानबालीमा फड्के किराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ । महाकाली, भीमदत्त र बेदकोट नगरपालिकाका केही वडामा किसानले लगाएका धानबालीमा फड्के किराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख रामचन्द्र भट्टले बताए ।

“हामी स्थलगत अनुगमनमा निस्केका छौँ, अन्त भन्दा महाकाली नगरपालिकामा प्रकोप बढी देखिएको छ ।” उनले त्यहाँ अनुगमनका क्रममा डेढ बिघामा लगाएको धानबाली प्रकोपका कारण क्षति पुगेको बताए । “सो नगरपालिकामा १० हेक्टर धानबाली प्रभावित छ”, भट्टले भने, “अहिले किसानलाई प्रकोप नियन्त्रणका लागि विषादी दिने र प्रयोग गर्ने विधिबारे सिकाउने काम भइरहेको छ ।” त्यसैगरी भीमदत्त नगरपालिका–२, १८ र १९ का साथै बेदकोटका केही वडामा यसको प्रकोप देखिएको ज्ञान केन्द्रले जनाएको छ ।

“पाक्न लागेको, पसाउन लागेकोलगायत सबै प्रकारका धानमा प्रकोप देखिएको छ”, उनले भने, “हामीले सबै पालिकाका कृषि शाखाका कर्मचारीलाई प्रकोपबारे अनुगमन गर्न भनेका छौ ।” किसानले भने पाक्न लागेको धानबालीमा प्रकोप देखिएपछि चिन्तित बनेका छन् । यहाँको महाकाली नगरपालिकाका विष्णुदत्त भट्टले आफूले लगाएको धानबावलीमा पूर्ण रुपमा प्रकोप देखिएको बताए ।

“तीन बिघा खेतमा लगाएको धानबालीमा प्रकोप देखिएपछि परिवार पाल्ने चिन्ता बढेर आयो”, उनले भने, “यस्तो प्रकोप यहाँ पहिलो पटक देखिएको हो ।” गत सातादेखि धानमा प्रकोप देखिएपछि किसानले नियन्त्रणका लागि विभिन्न प्रयास गरेपनि सार्थक नभएको बताएका छन् । स्थानीय रुद्रलाल सुनारले धानबालीमा फड्के किराको प्रकोप देखिएको बताए । “प्रकोपले खानै नहुने स्थिति बनेपछि सरकारले पनि हामीलाई क्षतिपूर्ति वा राहत दिनुपर्छ”, सुनारले भने, “यस्तो महामारीका बेला झन् अर्को समस्या थपियो ।” रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?