पाक्न थाले जुम्ली मार्सी धान

जुम्ला । जुम्लामा मात्र उत्पादन हुने जुम्ली मार्सी धान यतिबेला यहाँका खेतमा पाक्न थालेको छ। विश्वको सबैभन्दा उच्च स्थानमा फल्ने जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौरमा कालीमार्सी धान खेतमा पाकेको छ।

यहाँ फलेको जुम्ली मार्सी धानबाट उत्पादन हुने चामल देशका विभिन्न शहरमा राम्रो मूल्यमा बिक्री हुने गरेको कालीमार्सी धान संरक्षण तथा प्रवद्र्धन केन्द्रका अध्यक्ष कलिमान महताराले बताए। उनले भने, ‘काली मार्सी धानको संरक्षण स्थानीय सरकारले मात्र गर्न नसक्ने भएकाले प्रदेश सरकार र सङ्घीय सरकारले किसानलाई विभिन्न राहतका कार्यक्रम ल्याउन आवश्यक छ।’ हाल विभिन्न रोग तथा जलवायु परिर्वतनले गर्दा पनि धान उत्पादन घट्दै गएको किसानहरु बताउँछन्।

स्वाद, रोग र किराको प्रतिरोध गर्न सक्ने गुण र पोषक तत्वको कारण जुम्ली मार्सी धानको महत्व अन्तर्राष्ट्रिय जगतसम्म पुगेको छ। राणाकालमा केन्द्रमा रहेका शासकहरूका लागि यही मार्सी धानको चामल हुलाकबाट काठमाडौँसम्म पुराउने गरेको यहाँका ज्येष्ठ नागरिक बताउँछन्। करीब ७०० वर्षअघि जुम्लीका इष्ट देवता चन्दननाथले भारतको काश्मिरबाट मार्सी धान भित्र्याएको विश्वास गरिन्छ।

कृषि विज्ञहरुका अनुसार चिसो हावापानीमा उत्पादन हुने खाद्यान्न र फलफूल निकै स्वादिला हुन्छन्। जिल्लामा २८ सय हेक्टरमा धान खेती हुने गरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाकाले बताए। यसको चामलको भात खाँदा धेरै बेरसम्म भोक लाग्दैन। स्वादिलो, आडिलो र स्वस्थकर हुने गरेको यहाँका जानकार बताउँछन्। निकै पोषिलो र अत्याधिक कार्बोहाइड्रेट भएको काली मार्सी स्वास्थ्यवर्धक पनि मानिन्छ।

मार्सी धानको चामल खैरो रङको हुन्छ। खैरो देखिने भएकाले कसैकसैले यसलाई रातो चामल पनि भन्छन्। उच्च रक्तचाप, मधुमेह लगायतका बिरामीलाई यो चामलको भातले निकै फाइदा हुने भएकाले शहरमा यसको माग बढेको नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले बताए। लामो समयदेखि जुम्लाबाट काली मार्सी चामल ल्याई काठमाडौँमा व्यापार गर्दै आएका जुम्लाका व्यापारी लालबहादुर रोकायाले कोरोनाले देश लकडाउन हुँदा व्यवसायमा सकस भएको उल्लेख गरे। रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?