तरकारी खेतीतर्फ युवाको बढ्दो आकर्षण : ३५ विगाह जमिनमा सामूहिक खेती

प्राङ्गारिक तरकारी

नारायणपुर । राम्रो रोजगारी र आकर्षक कमाइका लागि विदेश जाने होड चलिरहेका बेला तुलसीपुरका युवा भने व्यवसायिक तरकारी खेतीतर्फ आकर्षित हुन थालेका छन् ।

मेहनतअनुसार घरमै बसेर लाखौ रुपैयाँ कमाउन सकिने भएपछि यहाँका युवामा तरकारी खेतीप्रति मोह जागेको हो । तुलसीपुर उपमहानगरपालिका– १७ बनकट्टीका चार्टर एकाउन्टेन्टद्वय घनश्याम सापकोटा र सन्तोष विष्ट तथा जमिन राना र कान्तुराम खनाल कृषि पेशामा रमाउन थालेको डेढ वर्ष भएको छ ।

ग्रीन कोर ग्रुप प्रालि नामक संस्था स्थापना गरेर नेपाल संस्कृत विश्वविद्यालयको प्रतिवर्ष रु १२ लाख ५० हजार भाडा तिर्ने गरी ३५ विगाह जमिन करारमा लिई उनीहरुले सामूहिक रुपमा व्यावसायिक तरकारी खेती शुरु गरेका हुन् । अहिले उनीहरुको फार्ममा खुर्सानी, बोडी, साग, करेला, टमाटर, केरा र गोभीलगायतका तरकारी हुर्किरहेका छन् ।

गतवर्ष लगाएको तरकारी सरकारले लागू गरेको बन्दाबन्दीका कारण विक्री गर्न नपाएपछि झन्डै रु ५० लाख घाटा ब्यहोर्नु परेको फार्म सञ्चालक समितिका संयोजक घनश्याम सापकोटाले जानकारी दिए । उनले भने, “अहिले थोरै भएपनि सहज परिस्थिति निर्माण भएकाले पुनः तरकारी लगाउन शुरु गरेका छौं तर त्यो पनि विक्री गर्न पाइन्छ कि पाइदैन् भन्ने चिन्ता लागेको छ ।” पहिलो वर्ष उत्पादन राम्रो भएकाले बन्दाबन्दीका कारण विक्री गर्न नपाउँदा घाटा भएपनि आफूहरु नआत्तिएको उनले बताए । पोखरा, बुटवल, नारायणगढको बजारलाई हेरेर तरकारी उत्पादनमा लागेको उनको भनाइ छ ।

धेरै जमिनमा तरकारी खेती शुरु गरेको भन्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको तरकारी पकेट जोनमा ५० प्रतिशत अनुदानअन्तर्गत हाम्रो फार्मले रु. १४ लाख पाएको बताउँदै संयोजक सापकोटाले भने, “केराखेती विस्तार कार्यक्रमअन्तर्गत कृषि ज्ञानकेन्द्र दाङले रु. ३ लाख उपलब्ध गराएको छ ।” ग्रीनकोर ग्रुप प्रालिमा अहिलेसम्म रु एक करोड लगानी लागेको उनको भनाइ छ ।

उक्त फार्ममा कृषि सम्बन्धि तालीम लिएका छ जनालाई रोजगारी दिइएको छ । दैनिक ज्यालादारी र मजदूर गरी करिब ७० जना स्थानीयवासीलाई सो फार्मले रोजगारी दिइएको बताइएको छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments