कफी खेती विस्तार गर्न ३ करोड स्वीकृति प्रदान

गुल्मी । गुल्मीमा कफी खेती विस्तार गर्न जग्गा खरिदका लागि नेपाल सरकारले स्वीकृत प्रदान गरेको छ । संघीय सरकारमार्फत ३ करोड बजेटसहित स्वीकृति प्रदान गरेको हो । जिल्लाको मुसिकोट नगरपालिकामा कफी खेती विस्तार गर्न जग्गा खरिदका लागि सरकारले स्वीकृति दिएको मुसिकोट नगरपालिकाले जनाएको छ ।

कफीका लागि प्रसिद्ध क्षेत्र गुल्मीको आँपचौरमा रहेको कफी विकास केन्द्रलाई कफी खेती विस्तारका लागि सरकारले अनुमति दिएको मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीले जानकारी दिए ।

“कफी खेती विस्तारका लागि गर्न १ सय ५० रोपनी जग्गा खरिदका लागि सरकारको स्वीकृति प्राप्त भएको छ” मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भण्डारीले भने, “नेपाल सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जग्गा खरिदका लागि स्वीकृति दिएको हामीलाई जानकारी गराउनु भएको छ ।”

“आँपचौरको लाम्चे बिसौनादेखि देउरालीसम्म सम्भव भए २ सय रोपनी र नभए १ सय ५० रोपनी जग्गा प्राप्तिका लागि स्वीकृति प्रदान भएको छ ।” कफी विकास केन्द्र आँपचौर गुल्मीका वरिष्ठ बागवानी अधिकृत बद्रीप्रसाद पौडेलले भने ।

मुआब्जा दिएर कफी विस्तार

उक्त क्षेत्रमा बसोबास गर्ने घरधुरी र स्थानीयको जग्गालाई मुआब्जा दिएर कफीको विस्तार गरिने छ । मुआब्जा दिनका लागि प्रमुख जिल्ला अधिकारी, मालपोत कार्यालयका सदस्य र नेपाल सरकारले तोकेका व्यक्ति सम्मिलित भई जग्गा प्राप्ति समिति निर्माण हुने कफी विकास केन्द्र आँपचौर गुल्मीका वरिष्ठ बागवानी अधिकृत पौडेलले बताए ।

“समितिले वर्तमान दररेटलाई मूल्यांकन गरी लालपूर्जाको आधारमा मुआब्जा दिने तरिका निर्धारण गर्ने र सोही आधारमा कफी विकास केन्द्रले जग्गा खरिद गर्ने छ ।” अधिकृत पौडेलको भने ।

कफीको विस्तार गर्न जग्गा प्राप्तिका लागि संघीय सरकारमार्फत ३ करोड बजेट विनियोजन भएको छ । देशकै एकमात्र कफी विकास केन्द्रमा अहिलेसम्म मात्रै ३७.३३ रोपनी जग्गा रहेको छ । जग्गा कम हुँदा केन्द्रको उद्देश्य बमोजिम कार्य गर्न र प्रविधि विस्तारका लागि कठिनाई हुने गरेको कफी विकास केन्द्र गुल्मीले जनाएको छ । “सरकारले स्वीकृति गरेको उक्त जग्गा उपलब्ध हुनासाथ विभिन्न जात अनुसारको विरुवा उत्पादन गर्न, बिउ विरुवा उत्पादन गर्न, कफीको नमुना जर्मप्लाजम गर्न, ब्लग बनाउन, तथा अनुसन्धानमा समेत सघाउ पुग्नुका साथै धेरै कार्यक्रम सञ्चालन गर्न सकिने छ ।” कफी विकास केन्द्र आँपचौर गुल्मीका वरिष्ठ बागवानी अधिकृत पौडेलले भने ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?