झलमल्ल घाम देखिएपछि ! खनजोत गर्न र भदौरे धान काटेर थन्क्याउन पाइने किसानको आश

महोत्तरी । आकाश धुम्मिएर छिनछिनमा पानी परी रहेर दिक्क भएका महोत्तरीवासी आज भने एकाबिहानै जुर्मुराएका छन् ।

असोज लागीकन बिहानै घाम देख्न नपाएका महोत्तरीका बासिन्दालाई आज एकाबिहानै झलमल्ल घाम लागेपछि राहत मिलेको हो । दिनदिनैजसो छिनछिनमा पर्दै आएको पानीले जकडिएको जनजीवन आज बिहानै आकाश सफा देखिनसँगै पारिलो घाम लागेपछि खुलेको छ । एकाबिहानै झलमल्ल घाम लागेपछि जिल्लाका सबैजसो बजारचोकमा चहलपहल बढेको छ । यसपालि भदौ अन्तिम सातादेखि नै दिनदिनै छिनछिनमा पानी परी रहेपछि यहाँको जनजीवन वाक्कदिक्क नै बनेको थियो ।

अब दुई/चार दिन लगातार घाम लागे तरकारी खेती गोडमेल, खेतबारी खनजोत गर्न र भदौरे धान काटेर थन्क्याउन पाइने किसानको आश छ । “हेर्नोस् न, खेतमा धान पाकेर दाना झर्दैछ, पानी नरहेर काट्न, दाँइ गर्न र थन्क्याउन पाइएको थिएन”, जिल्लाको बर्दिवास नगरपालिका–७ मनहरिपुरका किसान बिन्देश्वर यादवले भने, “आज बल्ल कति दिनमा राम्ररी घाम लागेको छ, अब अन्न थन्क्याउन पाइने आश जाग्यो ।”

मौसममा सुधार देखिएसँगै अब तरकारी गोडमेल र नयाँ खेतीका लागि खेतबारी खनजोत गर्न अनुकूल हुने यादव बताउछन् । जिल्लाको उत्तरी क्षेत्रका बर्दिवास, भङ्गाहा, गौशाला र औरही नगरपालिका क्षेत्रमा आँसु (भदौरे धान) मुख्य बालीका रुपमा रहँदै आएको छ ।

अब राष्ट्रिय महत्वका चाडपर्व नजिकिएसँगै घर सरसफाइ, लिपपोत र रङरोगन गर्ने बेला पनि नजिकिएको सर्वसाधारण गृहिणी बताउछन् । मौसम उघ्रेसँगै रातो, कमेरे र पहेँलो माटोको खोजीमा लाग्ने गृहिणीको तयारी छ । “अब १९/२० दिनपछि त दशैँ शुरु भइहाल्छ, पानी परी रहेर केही गर्न पाइएको थिएन”, जिल्लाकै भङ्गाहा–४ थारुटोल बनराकी अशिया चौधरी थारुले भने, “अब बल्ल घाम देखिएको छ, चाडपर्वको तयारीमा लाग्न पाइने आश जाग्यो ।”

अहिले मौसममा सुधार देखिएसँगै पशुपालक किसानले गोठमै बाँधिएर रहेका घरपालुवा पशुबस्तु (गाई, भैँसी, बाख्रापाठा) फुकाउन, डुलाउन पाएका छन् । धेरै दिनपछि पारिलो घाम लागेपछि लुगा धुने व्यवसायका धोबीलाई पनि राहत भएको छ । “धेरै दिनदेखि ग्राहकले धुन दिएका लुगा पानी परी रहेर घरमै थुप्रिएको थियो”, जिल्लाको बलवा नगरपालिकाको बन्चौरीका मुस्लिम बैठा धोबीले भने, “अब भने काम गर्न पाइने भयो ।” लामो समयपछि आकाश उघ्रेपछि बल्ल शरद ऋतु प्रारम्भ भएको महोत्तरीका सर्वसाधारणले महसुस गरेका छन् । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?