धान खेतमा रगिन गर्दै बीउ उत्पादन कृषि सहकारी

टीकापुर । कैलालीमा धान बीजवृद्धि खेती गरेका कृषि सहकारी धान खेतमा रगिन गरिरहेका छन् । बीउमा जातीय शुद्धताका लागि खडा अवस्थामा रहेको तयारी धान बालीमा रगिन गर्न थालेका हुन् ।

कैलालीको जानकी गाउँपालिकास्थित बीजवृद्धि सहकारी संस्था मुनुवाले यस वर्ष १०९ हेक्टर क्षेत्रफलमा विभिन्न जातका धानको बीजवृद्धि खेती गरेको छ । सहकारीले प्रत्यक्ष निगरानी र सुपरीवेक्षणमा गुणस्तरीय बीउ उत्पादन गर्ने गरेको छ । गुणस्तरीय बीउअन्तर्गत जातीय शुद्धताका लागि सहकारीले पाक्न थालेको बिजवृद्धिका लागि खेती गरिएको तयारी बालीमा दैनिक एक समूह परिचालन गरेको छ ।

तालिमप्राप्त समूहले धानखेतीमा पस्ने र बेजात धानका बाला निकाल्ने काम गरिरहेको सहकारीका प्रबन्धक गोविन्द रावतले बताए । “विज्ञसहितको समूहले खेतमा बेजात धानका बाला काट्न थालेको छ, यसले धानको बीउ शुद्ध बनाउन सहयोग पुग्छ”, रावतले भने, “यसरी पाक्ने बेलाको धान खेतमै बेजात धान काट्दा बीउमा शुद्धता आउँछ । शुद्ध बीउका लागि यसो गर्न थालेका हौँ ।”

गुणस्तरीय बीउमा जातीय शुद्धताका लागि अपनाइने कार्यलाई रगिन भनिन्छ । रगिन गर्दा खडा धानबालीको तयारी अवस्थामा खेतमै कृषि प्राविधिकको प्रत्यक्ष संलग्नता, निरीक्षण र सल्लाहबमोजिम गरिन्छ ।

सोही आधारमा ४५ हेक्टर बालीमा नमूना बहुउद्देश्यीय सहकारी संस्थामार्फत दक्ष किसानसहितको टोलीले धानको बीजवृद्धिका लागि धान खेतमा रगिन गरिहेको सहकारीका अध्यक्ष जीतबहादुर चौधरी बताउँछन् । “पाक्न थालेको धानमा रहेको बेजात धान हटाउने कार्य भइरहेको छ”, जीतबहादुरले भने, “उत्पादन बढी लिन बीउमा शुद्धता पनि आवश्यक छ । हामी बीउ उत्पादक सहकारीले बीउ शुद्ध बनाउन यसो गर्न थालेका हौँ ।”

यी कृषि सहकारीजस्तैै यस क्षेत्रका अन्य बीउ उत्पादक कृषि सहकारीले पनि रगिनको कार्य गरिरहेका छन् । गुणस्तरीय बीउमा शतप्रतिशत जातीय शुद्धता नहुने भएकाले रगिन गर्नुपर्ने हुन्छ । बीउ उत्पादनका लागि गरिने बालीको कम्तीमा दुई पटक रगिन गरिनु अति आवश्यक छ । रगिन बाली पसाउनुपूर्व र बाली तयारीपूर्व गरिन्छ । यसरी रोपिएको जातमा बेजात बाली मात्र हटाउनेसँगै विभिन्न झारपात हटाउने कार्य गरिन्छ । बीउमा शुद्धता हुने भएकाले कृषि प्राविधिक वा दक्ष कृषकले मात्र रगिन गर्नुपर्ने कृषि विज्ञको सुझाव छ । “रगिन गर्दा कृषि प्राविधिकको निरीक्षणसहित फिल्डमा काम गर्नुपर्ने भएकाले बीज वृद्धिको क्षेत्रमा क्रियाशील कृषि सहकारी, समूहले विशेष ध्यान दिन आवश्यक छ”, क्षेत्रीय बीउबिजन प्रयोगशाला कञ्चनपुरका बाली विकास अधिकृत सिद्धराज उपाध्यायले भने, “दुईपटक बेजात धान हटाउने गरेमा बीउ शुद्ध हुन्छ ।”

कैलालीका बिजवृद्धि सहकारीले उत्पादन गरेको बीउ देशैभरि बिक्री हुने गरेको छ । यहाँका सहकारीले कैलालीसहित बुटवलसम्म बीउ बिक्री गर्ने गरेका छन् । कैलालीमा दर्जन बढी सहकारीले बीजवृद्धिका लागि खेती गर्दै आएका छन् । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?