किसानलाई कात्तिके बाली भित्र्याउने चटारो

हुम्ला । उच्च हिमाली जिल्ला हुम्लाका किसानलाई कात्तिके बाली भित्र्याउन भ्याइनभ्याई भएको छ। किसानहरू यतिबेला फागुन चैतमा लगाएको बाली कोदो, चिनो फापरलगायतका कात्तिके बाली भित्र्याउन थालेका छन्।

वर्षको एक बाली पाक्ने हुम्लामा मुठी रोपी मानो भित्र्याउन व्यस्त छन् । असोज कात्तिकमा भित्र्याएको कात्तिके अन्नले हिउँदको छ महिना घरपरिवारको हात मुख जोड्ने गरिन्छ । हिउँद महिनामा जिल्लामा हिमपात हुने र जिल्लाका जमिनमा पूरै हिउँले सेताम्मे हुने भएकाले आजभोलि भण्डारण गरेको अन्न हिउँदमा खाने गरिन्छ।

किसानहरू आजभोलि बिहान ४ बजे नै खेतबारीमा पुगी रातिको १० बजेसम्म काम गर्ने गरेको पाइएको छ । जिल्लामा चिसो बढेकाले समयमै अन्न नभित्र्याए तुसारोले बालीमा लागेको फल झारिदिने र सुकाइदिने भयले किसानहरू रातदिन नभनी कात्तिके बाली भित्र्याउन थालेका हुन ।

अन्न बालीसँगै हिउँदे मौसममा पशु चौपायाहरूको लागि पनि घाँस भण्डार गर्न थालिएको छ । मानिससँगै पशुको आहारा पनि भण्डारण गर्नुपर्दा किसानलाई कामको चटारो परेको हो।

यो वर्ष हिउँदमा हिउँ ज्यादा परी खेतबारीमा भएको पातपतिङ्गर सडी गली राम्रो मल हुनुका साथै वर्षा मौसममा पनि समयसमयमा पानी पर्दा अन्नबाली राम्रो भएको स्थानीय लोग भण्डारीले बताए । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments