माछा सखपा हुने गरी पोखरीमा विष मिसिएपछि

नरहरि सापकोटा
गोरखा ।

कोरोना प्रभावित भएर होम आइसोलेसन बस्दै आएका किसान आफ्नो व्यवसाय नियमित गर्न नपाउँदा दुखित छन्। व्यवशायिक रुपमा माछा पालेका गोरखाको गण्डकी गाउँपालिका ५ दर्बुङका राजेन्द्र श्रेष्ठको सबै माछा सखपा हुने गरी पोखरीमा विष मिसिएपछि चिन्ता झन बढेको हो।

पोखरीमा बिष परेपछि आठसय ग्रामदेखि एक किलो तौल सम्मको छ सय माछा मरेको बूढीगण्डकी पशुपन्छी तथा कृषि फार्मका सञ्चालक श्रेष्ठले बताए। सोमवार साँझसम्म पोखरीको सबै माछा मरेको उनले बताए।

‘दशैँ अघिसम्म छ सय ५० किलो माछा बिक्री गर्ने योजना थियो’, संचालक श्रेष्ठले भने, ‘सोमवार बिहान दाना हाल्न जाँदा माछा धमाधम मरिरहेका रहेछन्।’ माछा पोखरीमा कसले बिष हाल्यो भन्ने यकिन भएको छैन।

पोखरीमा रहेको भ्यागुता र पोखरी बाहिर मुसा पनि मरेको भेटिएको थियो। भेटेनरी प्राविधिकले पोष्टमार्टमका क्रममा ‘प्वाईजन’ का कारण माछा मरेको पुष्टि गरेपछि श्रेष्ठले पोखरीमा बिष हाल्नेको खोजी गरिदिन वडा कार्यालय, प्रहरी र टोल सुधार समितिमा निवेदन दिएका छन्।

गत जेठ १३ गते भारतबाट प्रतिभुरा नौ रुपैयाँ ५० पैसामा उनले माछा किनेर ल्याएका थिए। यसअघि तीन रुपैयाँ प्रतिभुरा पर्ने माछा लकडाउनका कारण महँगोमा किन्नु परेको उनले बताए। माहुर जातको उक्त माछा बिक्री गरेर एक लाख रुपैयाँ आम्दानी लिने उनको योजना थियो। ‘पहिलो पटकमै यस्तो भयो’ श्रेष्ठले भने ‘पोखरी निर्माण र माछामा छ लाख रुपैयाँ खर्च गरेको थिएँ, अब त्यो ऋण लाग्यो।’ माछा पोखरीमा कसले किन बिष हाल्यो भन्ने यकिन भएको छैन। -नागरिक दैनिक

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?