वास्तविक कृषकसम्म पुगेन राज्यको अनुदान

भोजपुर, पछिल्लो समय भोजपुरका युवाको कृषि व्यवसायतिर मोह बढे पनि पहुँचका आधारमा स्थानीय तह तथा अन्य सरकारी निकायले अनुदान वितरण गर्दा वास्तविक कृषक मारमा परेका छन् ।

भोजपुर नगरपालिका–४ सिद्धेश्वर दाँवाका २२ वर्षीय युवा गणेश विष्टले इलामबाट उन्नत जातको गाई ल्याएर रु १२ लाख बढी लागतमा गाईपालन व्यवसाय गर्दै आएका छन् । फार्मबाट दैनिक ५० लिटर बढी दूध उत्पादन भइरहेको छ । चार वर्षअघिबाट कृषि व्यवसाय गरिरहेको भए पनि हालसम्म कुनै प्रकारको राज्यको सहयोग नपाएको उनको गुनासो छ ।

कृषक विष्टले भने, “इलामबाट ठूलो लगानी गरेर उन्नत जातको गाईपालन गरिरहेको छु, वडा तथा अन्य कार्यालयमा धाउँदा पनि कुनै सहयोग मिलेन, अहिले गोठ सुधारको काम गर्न पैसा अभाव भएर बाँस ओच्छयाएर गार्ई राखेको छु । मलाई गाई मर्ने चिन्ताले पिरोल्छ । के गर्नु राज्यको सहयोग लिन पनि पहँुच नै पुग्दैन ।” करिब ८०० मिटर कच्चीबाटो मर्मतमा वडा कार्यालयले ध्यान नदिँदा उनलाई दूध बिक्रीका लागि सदरमुकामसम्म पुग्न सास्ती हुने गरेको छ । उनले जोखिम मोलेर बाइकमा दूध बोक्दै आएका छन् । “ बाटो मर्मतलाई भन्दा पनि काम भएन, एक किलोमिटरसम्म दूधको क्यानलाई काँधमा बोकेर सडक राम्रो भएको ठाउँसम्म लैजानुपर्छ । व्यवसाय गर्छु भनेर के गर्नु दुःख धेरै छ”, कृषक विष्टले भने ।

उनले सञ्चालन गरिरहेको दाँवाली पशुपक्षी तथा कृषि फार्ममा भैँसी, बाख्रा तथा कुखुरा छन् । फार्ममा उहाँका बुवा तथा अन्य परिवारका सदस्यले सहयोग गर्छन् । आफ्नै ठाउँमा स्वरोजगार बन्न व्यावसायिकरुपमा काम गरेको भए पनि सरकारको साथ नपाउँदा व्यवसाय धरासायी बन्दै गएको कृषक एकेन्द्रबहादुर विष्टले बताए ।

“रकम अभाव छ, दूध बिक्रीबाट आएको पैसाले गाईलाई चोकर र औषधि किन्दा नै ठिक्क हुन्छ । कारण ठूलो लगानी गरेर बाहिरबाट ल्याएका गाई बचाउन चिन्ता भएको बताउने गरेका छन्”, कृषक एकेन्द्रले भने ।

जिल्लाका अधिकांश स्थानीय तह तथा सरकारका अन्य विभिन्न निकायबाट विभिन्न खाले अनुदानका कार्यक्रम सञ्चालन हुने गरे पनि पहुँचवालाले मात्र यस्तो सुविधा पाउने गरेको वास्तविक कृषकले बताउँदै आएका छन् । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?