बनेपामा माछापालक कृषकलाई गाउँपालिकाको अनुदान

बनेपा : रोशी गाउँपालिका वडा नं. ९ का कुमार लामाले पिन्थलीवेँशीमा ठूलो दूई वटा पोखरी बनाएर माछा पाल्न थालेका छन् । करिब ८ लाखमा माछापालनको संरचना निर्माण पश्चात अहिले सो पोखरीमा माछाका भुरा हालेर हुर्काउने काममा उनी व्यस्त छन् ।

बजार क्षेत्र ठूलो भएको र त्यहाँ अरु त्यस्तो व्यवसाय नभएपछि माछापालन शुरु गरेको लामाले बताए । सो व्यवसायमा दुईमहिनादेखि दुई जनाले रोजगारी पाएका छन् । उनीहरुको काम माछालाई दाना दिने, पानीको कुलो बनाउने र चरा धपाउने हो । यसअघि बनेपामा निर्माण मजदूरी गर्ने विमला लामा माछा पालन शुरुपछि काम गर्दै आएको बताउँछन् ।

कुमार मात्रै होइन त्यसरी माछा पाल्नेमा सोही गाउँपालिका वडा नं. ७ का भीम लामा र वडा नं. ११ का बलराम आलेमगरले पनि व्यावसायिक माछापालन शुरु गरेका छन् । रोशीमा अहिले पिन्थलीवेँशीमा रहेको पोखरीमा ४० हजार माछाका भुरा हालेर माछापालन शुरु गरिएको छ ।

संरचना निर्माणगरेसँगै पोखरीको क्षमताको आधारमा माछाको भुरा उपलब्ध गरिदिएको रोशी गाउँपालिका अध्यक्ष दलबहादुर लामाले बताए । त्यस्तै वडा नं. ७ को चारसय फाँटमा ४० हजार र वडा नं. ११ मा १२ हजार माछाको भुरा उपलब्ध गराएको पालिका अध्यक्ष लामाले बताए ।

गाउँपालिकाले अनुदान दिएपछि यहाँ माछापालन व्यवसाय बढेको हो । “गाउँपालिकाले कार्यक्रम बनाएर प्रोत्साहन गर्ने हो, बाँकी काम कृषक आफैले ‘जसको मन, उसैको संरक्षण’ नारासाथ कृषि क्षेत्रका आम कृषकलाई सहभागिता गराउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौं”, उनले भने, “अहिले माछापालनलाई नगद अनुदानका साथै माछाका भुरा उपलब्ध गराएका छौं ।”

पालिका अध्यक्ष लामाका अनुसार माछापालक कृषकमध्ये माछाको भुरासहित कुमार लामालाई ३ लाख ५० हजार र बलराम आलेमगर र भीम लामालाई जनही २ लाख ५० हजारका दरले नगद अनुदान प्रदान गरिएको छ । गाउँपालिकाले स्थानीय कुखुरा, मौरीपालनको लागि घार र उन्नत जातको बाख्रापालनलाई अनुदान दिँदै आएको गाउँपालिका अध्यक्ष लामाले बताए । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?