डोटीमा निगालो र बाँसबाट बनेका विभिन्न सामग्रीको कारोवार बढ्यो

डोटी: जिल्लामा पछिल्लो समय निगालो तथा बाँसका सामग्रीको खरिद बिक्रीमा वृद्धि भएको पाइएको छ । कारोबारको यकिन तथ्याङ्क सङ्कलन नभए पनि यहाँका गाउँघरमा अन्न भण्डारणका लागि प्रयोग गरिने निगालो तथा बाँसबाट बनेका विभिन्न सामग्री किनमेल गर्ने ग्राहक बढ्न थालेको उत्पादनमा संलग्नहरुले बताएका छन् ।

विषेशगरी यहाँका दलित समुदायको परम्परागत सीपको रूपमा रहेको उक्त व्यवसायलाई दलित परिवारले निरन्तरता दिएका छन् । यहाँका दलित समुदायले मात्रै उक्त बाँस तथा निगालोको सामग्री निर्माण गरी गाउँगाउँमा बिक्री वितरण गर्ने गरेका छन् । अहिले यहाँका गाउँघरमा प्रायः बाँस तथा निगालोबाट बनेका सामग्री बिक्री गर्नेहरु नै भेटिन्छन् ।

जिल्लाका कुनै–कुनै स्थानमा बाँसका सामग्री बनाइने भए पनि बाँसभन्दा निगालोबाट बनेका सामग्री बढी टिकाउ हुने भएकाले दलित समुदायका व्यक्तिले अन्न भण्डारका लागि निगालोका सामग्री बनाई विभिन्न गाउँगाउँमा पुगेर बेच्ने र हजारौँ रकम आम्दानी गर्ने गरेको दिपायल सिलगढी नगरपालिका–५ का स्थानीयवासी मानबहादुर धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा निगालोका सामग्रीको निकै माग हुन्छ, यहाँका दलित समुदायले बाँस र निगालोका सामग्री निर्माण गरी अहिले गाउँगाउँमा बिक्री गरी आम्दानी गर्न थालेका छन् ।” यहाँका मध्य तथा उच्च लेकाली घना जङ्गल तथा खप्तड राष्ट्रिय निकुञ्जमा मात्रै पाइने डेउलो निगालोबाट धान, गहँु, कोदो भण्डारण गर्न प्रयोग गरिने भकारी, सुप्पालगायत सामग्री बनाउने गरिन्छ ।

बाँस तथा निगालोबाट बनेका सामग्री बिक्री गरेरै उक्त व्यवसायमा संलग्न यहाँका कतिपय व्यवसायीले लाखौँ रकम आम्दानी गर्ने गरेको सायल गाउँपालिका–१ का निगालोका सामग्री बिक्री गर्दै आएका लक्ष्मण सार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “अन्य पेशाभन्दा यो पेशा सजिलो र राम्रो छ, अलिकति दुःख भए पनि राम्रो आम्दानी हुन्छ, राम्रोसँग काम गरे एकै सिजनमा एक लाख कमाइन्छ ।” उहाँले निगालोका डुरो, डोको, सुप्पो, छापरीलगायत विभिन्न कृषि औजार निर्माण गरी बिक्री वितरण गर्ने गर्दै आउनुभएको छ ।

वर्षे अन्न बाली भित्र्याउने यो समयमा प्रायः धान, कोदो भण्डारणका लागि डुरोको बढी माग हुने र बिक्री हुने गर्दै आएको जोरायल गाउँपालिका–५ का हरिभान सार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले वर्षेबाली भण्डारणका लागि डुरो भन्ने भकारीको माग बढी हुन्छ, हिउँदे बाली भित्र्याउन भकारी चाहिँदैन, त्यो बेला सुप्पो, डोको भए हुन्छ ।” निगालोबाट बनेको एकभकारी (डुरो) मा कम्तीमा पनि दुई क्विन्टलभन्दा बढी अन्न भण्डारण गर्न सकिने किसान बताउँछन्् । भकारी अर्थात् डुरोलाई आफूहरुले रु दुई हजारदेखि तीन हजारसम्ममा बिक्री गर्ने गरेको पुर्कीचौकी गाउँपालिका–२ का भकारी व्यवसायी खुले नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “कम्तीमा पनि एक हप्तामा एक भकारी बन्छ, मेहेनत धेरै लाग्छ, मेहेनतअनुसारको रु दुई/तीन हजार लिने गरेका छौँ ।” निगालो तथा बाँसबाट बनेका सामग्री टिकाउ तथा बलियो पनि हुने भएकाले यसको प्रयोग गर्नेको सङ्ख्या पनि बढ्दै गएको शिखर नगरपालिका–१ कपल्लेकीका स्थानीय रामबहादुर ऐरले बताउनुभयो । उहाँले भन्नुभयो, “बाँस र निगालोबाट बनेका सामग्री टिकाउ पनि हुन्छन्, खासै नफुट्ने, नभाचिने भएकाले पनि यसको माग बढेको हो ।”

डोटीसहित समग्र सुदूरपश्चिम प्रदेशका गाउँघरमा अहिले पनि अन्न भण्डारण, गाई, भैँसीलाई घाँस, स्याउला, सोत्तर, मल ओसार्न, रोटी राख्न, दाल, चामल, गहुँ केलाउने कामका लागि निगालोका सामग्री बढी प्रयोग हुने भएकाले पनि जिल्लामा निगालोको सामग्रीको माग बढ्दै गएको छ । निगालोका सामग्री व्यावसायिकरूपमा उत्पादन गर्न तथा सीप विकाससँगै बजार प्रवद्र्धनका लागि पहल गरिदिनुपर्ने यहाँका व्यावसायीको माग छ । सरकारले बाँस निगालोका अन्य सामग्रीजस्तै ¥याक, फोटोफ्रेम, मूर्ति, बेन्च, टेबल, कुर्सी बनाउने तालिम प्रदान गरिदिए राम्रो हुने व्यवसायीको माग छ ।रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments