कृषि व्यवसाय प्रवर्धन विधेयक पारित
गण्डकी ।
यसअघि विधेयक माथिको छलफलमा सहभागी प्रदेशसभा सदस्य मीनप्रसाद गुरुङ, डोबाटे विश्वकर्मा, पियारी थापा र मधु अधिकारी गुरुङले निर्वाहमुखी कृषि प्रणालीलाई परिवर्तन गर्दै यसको आधुनिकीकरणका माध्यमबाट उत्पादन र उत्पादकत्व वृद्धिसँगै त्यसको बजारीकरणका लागि विधेयक महत्वपूर्ण हुनेमा जोड दिनुभयो । स्वच्छ र स्वस्थ कृषि उत्पादनसँगै कृषि पेशाप्रतिको आकर्षण बढाउनुपर्नेमा सदस्यको जोड छ ।
विधेयक माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री थापाले विधेयकले साना ठूला सबै कृषि व्यवसायीलाई समेटेको धारणा राख्नुभयो । उत्पादनमा आधारित प्रोत्साहनमा अनुदानको व्यवस्था विधेयकले गरेको उल्लेख गर्दै उहाँले आगामी दिनमा वास्तविक कृषकले अनुदान प्राप्त गर्ने उल्लेख गर्नुभयो ।
कृषियोग्य जग्गाको चक्लाबन्दीलगायतका विषय विधेयकमा समेटिएको उहाँले बताउनुभयो । विधेयकसँगै कृषिको आधुनिकीकरणका माध्यमबाट उत्पादन र उत्पादकत्व वृद्धि हुने विश्वास व्यक्त गर्दै उहाँले यसले प्रदेशलाई कृषिमा आत्मनिर्भरतातर्फ लैजाने धारणा राख्नुभयो । -रासस
